
अभिनेत्री रेखा थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु गरिएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन ३ गते निर्माण घोषणा गरिएको यो फिल्मको सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कमा पहिलो दृश्य खिचियो । फिल्मका लागि पहिलो शट नीति शाह र दिल श्रेष्ठले दिएका छन् ।
यो फिल्मबाट रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन् । यी दुवै फिल्ममा उनको मुख्य भूमिका समेत रहेको थियो । तर, यसपटक उनी अभिनयमा नभइ पूर्ण रूपमा निर्देशनमा केन्द्रित रहनेछिन् । उनले फिल्ममा नेपाली समाजमा घटेका घटनालाई प्रस्तुत गरिने बताएकी छन् ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने यस फिल्ममा नयाँ र पुराना पुस्ताका कलाकारहरूलाई समेटिएको छ । नीति र दिलसहित फिल्ममा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेल लगायतका कलाकारहरूको अभिनय रहनेछ । पत्रकार ध्रुव लम्सालले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा सुदीप बराल छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । यसमा रंग पत्रकार राजन घिमिरे को-अर्डिनेटरको रूपमा छन् । फिल्मले प्रेमकथाको माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ । फिल्मलाई आगामी तीजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

