Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्यो ‘आ बाट आमा’

फिल्मीखबर, काठमाडौं, 2026/03/09

box office

 

अभिनेता पल शाहले ७ वर्षपछि आफ्नै फिल्मको व्यावसायिक कीर्तिमान तोडेका छन् । २०७४ सालमा प्रदर्शन भएको ‘शत्रु गते’ उनको करिअरकै सर्वाधिक कमाउने फिल्म बनेको थियो । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक अनुसार यसले १२ करोड ६५ लाख रुपैयाँ ग्रस कमाएको थियो । अब यसको रेकर्ड पलको नयाँ फिल्म ‘आ बाट आमा’ले तोडेको छ ।

सोमबार बोर्डले सार्वजनिक गरेको विवरण अनुसार फागुन २३ गते शनिबारसम्म यो फिल्मले १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस व्यापार गरेको छ । यसको ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री भएका छन् । योसँगै ‘आ बाट आमा’ यस वर्ष सर्वाधिक कमाउने दोस्रो फिल्म समेत बनेको छ । यसले ‘जेरी अन टप’को व्यापारलाई उछिन्दै दोस्रो स्थान हासिल गरेको हो ।

बोर्डले ‘आ बाट आमा’सँगै अन्य तीन फिल्म ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘प्रवासी जीवन’को पनि व्यापारिक आँकडा सार्वजनिक गरेको छ । तर, यी तीनवटै फिल्मको व्यापार एक करोड पनि छैन । ‘कुमारी’ले २० हजार २२७ वटा टिकट बिक्रीबापत ६५ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘रमिताको पिरती’को व्यापार शनिबारसम्म ३० लाख १३ हजार रुपैयाँ छ । 

अभिनेता राजेश हमालको अभिनय रहेको ‘प्रवासी जीवन’को व्यापार भने निकै दयनीय देखिएको छ । प्रदर्शनको ९ दिनमा यसको ५०१ वटा टिकट बिक्री भएका छन् । र, व्यापार १ लाख ३८ हजार ४८० रुपैयाँ ग्रस छ । सम्भवतः हमालको करिअरकै सबैभन्दा कमजोर व्यापार गर्ने फिल्म यही हो । यस वर्ष उनी अभिनीत अर्को फिल्म ‘नरसिंहा अवतार’ पनि असफल भएको थियो ।