Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिकटकमा भाइरल बन्यो ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत

फिल्मीखबर, काठमाडौं, 2026/03/08

biraj bhatta

 

पछिल्लो समय गीतको लोकप्रियता मापन गर्ने माध्यम नै टिकटक बनेको छ । टिकटकमा गीत भाइरल भएपछि त्यसलाई सफल भएको मान्ने गरिन्छ । यही क्रममा फिल्म ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ यतिबेला टिकटकमा भाइरल भइरहेको छ । दुई साताको अवधिमा यो गीतमा झन्डै तीन लाख टिकटक भिडियो बनेका छन् भने युट्युबमा पनि यसको भ्यूज उल्लेख्य देखिएको छ ।

युट्युबमा २१ लाखभन्दा बढीले गीत हेरिसकेका छन् । गीतलाई प्रतिक्रिया पनि निकै उत्साहजनक मिलेको छ । कतिले चुनावको गतिविधिले दिकदार भएको अवस्थामा यो गीतले दिमागलाई शीतल बनाएको बताएका छन् भने कतिले संगीत र दृश्यको प्रस्तुतिकरणको खुलेर प्रशंसा गरेका छन् । गीतकै कारण हलमा फिल्म हेर्न आतुर रहेको प्रतिक्रिया पनि धेरै देख्न सकिन्छ ।

दर्शकहरूले गीत मन पराएपछि निर्देशक माइकल चन्द उत्साहित देखिएका छन् । उनले भने, ‘निर्वाचनको छेकोमा हामीले गीत सार्वजनिक गर्दा धेरैले गलत समयमा गरियो भनेका थिए । तर, गीत सफल हुनेमा हामी विश्वस्त थियौं । आज धेरै दर्शकको मुखमा गीत झुन्डिएको छ । लाखौंको संख्यामा टिकटक बनेका छन् । यसले हामीलाई उत्साहित बनाएको छ ।’ 

रोमान्टिक शैलीको यो गीतमा धन बहादुर गिरी (बाबुल) र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द तथा गायक गिरी स्वयंको संगीत रहेको छ । सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विराज भट्ट र सुपुष्पा भट्टलाई देख्न सकिन्छ । दर्शकहरूले उनीहरूको केमेस्ट्री निकै रुचाएका छन् ।

आगामी चैत २७ गतेबाट प्रदर्शन हुने यस फिल्ममा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, दिनेश डीसी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा उपेन्द्र शाही र स्वेता विमली निर्मातामा छन् भने कार्यकारी निर्माताहरू किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।