
नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथामा फिल्म ‘टिका’ बन्ने भएको छ । आइतबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको हो । भविष्य खड्का फिल्मस् र थर्ड आइ आर्ट्सको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मलाई शंकर कार्कीले निर्देशन गर्नेछन् ।
फिल्मको थिम पोस्टरमा ‘टिका’लाई रातो गोलाकारभित्र सेतो अक्षरमा प्रस्तुत गरिएको छ । यसले कथामा विद्रोह, संघर्ष, शान्ति र नैतिक स्वच्छताको भाव झल्किने संकेत दिन्छ । फिल्मको उपशीर्षक ‘राज्यविहीन आत्मा’ राखिएको छ, जसले आफ्नो पहिचान खोजिरहेको व्यक्तिको संघर्षमा कथा केन्द्रित हुने जनाउँछ । यद्यपि, फिल्मको कथावस्तुबारे निर्माण पक्षले केही खुलाएको छैन ।
यस वर्षको सुपरहिट फिल्म ‘जेरी अन टप’की निर्मात्री भविष्य खड्का निर्माता रहेको यस फिल्ममा महेश त्रिपाठी, ऋचा शर्मा, वर्षा सिवाकोटी, निर्मल शर्मा अनुबन्धित भइसकेका छन् । साथमा बाल कलाकार आयुशी ढकालको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकार र प्राविधिक छनोटको चरणमा रहेको फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।
फिल्ममा चन्दन झा र निर्देशक कार्की स्वयंको कथा छ भने पटकथा रामकुमार श्रेष्ठले लेखेका छन् । सम्पूर्ण ‘कास्ट एण्ड क्रू’ तय भइसकेपछि फिल्मको औपचारिक निर्माण घोषणा गरेर यसै वर्ष छायांकन सुरु गर्ने योजनामा निर्माण पक्ष रहेको छ । छायांकनमा जाँदै गर्दा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिने जनाइएको छ ।

