Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालेनलाई बधाई दिँदै प्रियंका भन्छिन्, ‘नयाँ नेपाल देख्ने आशा अझ बलियो भएको छ’

फिल्मीखबर, काठमाडौं, 2026/03/07

Priyanka Karki

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा-५ बाट प्रतिनिधि सभा सदस्यमा संसदीय इतिहासकै सर्वाधिक मत ल्याएर सानदार जित हासिल गरेसँगै उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । रास्वपाबाट भावी प्रधानमन्त्रीका आकांक्षी समेत रहेका उनको जितमा कलाकारहरू पनि हर्षित देखिएका छन् ।

अभिनेत्री प्रियंका कार्कीले बालेनलाई बधाई दिँदै नयाँ नेपाल देख्ने आशा अझ बलियो भएको बताएकी छन् । उनले शनिबार फेसबुकमा एक पोस्ट लेख्दै भनेकी छन्, ‘अब पूरै देशको नजर तपाईँमाथि छ । हामीले आशा र विश्वासका साथ तपाईँलाई साथ दिएका छौँ । हामीले धेरै वर्षदेखि भाषण र नाराहरू सुन्दै आएका छौँ । तर, अब देशलाई काम गर्ने नेतृत्व चाहिएको छ ।’

नेपालका युवाहरूले अवसर र समाजले पारदर्शिता खोजेको उल्लेख गर्दै उनले नागरिकहरू फेरि आशामा विश्वास गर्न चाहिरहेको बताएकी छन् । बालेन आशाको किरण बनेर आएकाले जनताले फेरि नयाँ नेपालको सपना देख्न थालेको उनको भनाइ छ । उनले बच्चाहरू नेपालमै बस्ने र यहीँ आफ्नो भविष्य देख्न सक्ने अवस्था बनाउन बालेनलाई सुझाव पनि दिएकी छन् । 

प्रियंकाले फागुन २१ गते मतदान गरेपछि सामाजिक सञ्जालमार्फत यसपटक आफूले रास्वपालाई मत दिएको खुलासा समेत गरेकी थिइन् । उनले यो निर्णय कुनै आवेगमा नलिएको बताउँदै परिवर्तनको सम्भावनामा विश्वास गरेर मत दिएको स्पष्ट पारेकी थिइन् । चुनावयता उनको दैनिकी रास्वपाका विजयी उम्मेदवारहरूलाई बधाई दिएर बितिरहेको छ ।