.jpg)
बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर अनपेक्षित नतिजा ल्याइरहेको छ । नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले पुराना राजनीतिक शक्तिहरूलाई धक्का दिइरहँदा सोही पार्टी लक्षित एक अभिव्यक्तिका कारण अभिनेता राजेश हमाल भने विवादमा तानिएका छन् ।
के थियो हमालको अभिव्यक्ति ?
निर्वाचनको पूर्वसन्ध्यामा हमालले एक भिडियो सन्देशमार्फत राजनीतिक परिपक्वता भएका पुराना दलहरूको धमिलिएको छवि र नयाँ शक्तिको राजनीतिक दूरदर्शिता स्पष्ट नभइसकेकाले मतदाताका लागि छनोट कठीन रहेको बताएका थिए । उनले भदौ २३ र २४ गतेका घटनाबीच सम्बन्ध थियो वा थिएन भन्ने विषय अझै स्पष्ट नभएको पनि उल्लेख गरेका थिए ।
उनले भिडियोमा भनेका थिए, ‘भोट गर्दै गर्दा हामीमाझ चुनौती नै रहनेछ । किनभने, पुराना र राजनीतिक परिपक्वता भएका राजनीतिक दलहरूको धमिलिएको छवि र नयाँ शक्ति भनाउँदाहरूको राजनीतिक अपरिपक्वता र दूरदर्शिता खासै छर्लङ्गका साथ नेपाली जनतामाझ आइसकेको छैन । यो अवस्थामा चुनाव हुँदैछ । यसैले मतदाताका लागि छनोट सजिलो छैन ।’
हमालले आफ्नो सन्देशमा पुराना पार्टीलाई ‘राजनीतिक रूपमा परिपक्व’को संज्ञा दिएर नयाँ शक्तिलाई ‘अपरिपक्व’ र ‘भनाउँदाहरू’ भनेकोप्रति सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका छन् । त्यसलाई कतिपयले रास्वपामाथिको प्रहारका रूपमा लिएका छन् । उनले नयाँ पुस्ताको परिवर्तनको चाहनालाई अपमान गरेको आरोप समेत लागेको छ ।
रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमा हमाललाई ‘पुराना दलको एजेन्ट’ र ‘परिवर्तन विरोधी’ भएको भन्दै टिप्पणी गरिरहेका छन् । धेरैले उनलाई ‘आउटडेटेड कलाकार’को संज्ञा समेत दिएका छन् । यद्यपि, हमालले आफ्नो विरोध र आलोचनाबारे हालसम्म कुनै स्पष्टीकरण दिएका छैनन् । आफ्नो अभिव्यक्तिका कारण उनी विवादमा तानिएको सम्भवतः यो पहिलो पटक हो ।

