Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजयको वैवाहिक जीवन संकटमा, श्रीमतीले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

फिल्मीखबर, काठमाडौं, 2026/02/27

vijay thalapathy and wife Sangeetha

 

तमिल सुपरस्टार तथा राजनीतिक दल तमिलगा वेट्री कजगमका प्रमुख थलापति विजयको २५ वर्ष लामो वैवाहिक जीवन संकटमा परेको छ । उनकी श्रीमती संगीता सोर्नालिंगमले तमिलनाडु राज्यमा रहेको चेन्नगपट्टू पारिवारिक अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । उनले विजयमाथि विश्वासघातको आरोप लगाएको भारतीय मिडियाले जनाएका छन् ।

अदालतमा मुद्धा दायर गरेपछि उनले विजयले अन्य महिलासँग सम्बन्ध राखेका कारण अलग हुने निर्णय गरेको बताएकी छन् । आजतकका अनुसार उनले विशेष विवाह ऐन १९५४ अन्तर्गत धारा २७ (१) (क) अनुसार डिभोर्सको मुद्दा दायर गरेकी हुन् । यस प्रावधानअन्तर्गत विवाहपछि प्रतिवादीले पति वा पत्नीबाहेक अन्यसँग यौन सम्बन्ध राखेको आधारमा डिभोर्स माग गर्न सकिन्छ । 

यसअघि विजय र संगीता अक्सर सार्वजनिक कार्यक्रममा एकसाथ देखिने गरेका थिए । उनीहरूलाई ‘आदर्श जोडी’ समेत भन्ने गरिन्थ्यो । तर, अब संगीतले डिभोर्सको माग गर्दै अदालतमा मुद्धा दायर गरेपछि यो राजनीति र तमिल फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ । त्यसो त यसअघि पनि उनीहरूको वैवाहिक सम्बन्धमा दरार आएको खबर सार्वजनिक भएका थिए । 

विजय र संगीताले २५ अगस्ट १९९९ मा विवाह गरेका थिए । विवाहपछि २६ अगस्ट २००० मा उनीहरूलाई पहिलो सन्तानको रूपमा पुत्रलाभ भएको थियो । त्यसपछि सन् २००५ मा उनीहरूको घरमा छोरी जन्मिइन् । विजयका छोरा जेसन सञ्जयले तमिल फिल्म उद्योगमा सर्ट फिल्म ‘पुल द ट्रिगर’मार्फत निर्देशकका रूपमा डेब्यु गरिसकेका छन् ।

तमिल फिल्म उद्योगका सर्वाधिक सफल अभिनेता मानिएका विजय अभिनयबाट सन्न्यास लिएर राजनीतिमा होमिसकेका छन् । सन् २०१४ मा तमिलगा वेट्री कजगम पार्टी सुरु गर्दै उनले २०२६ को तमिलनाडु विधानसभा चुनावअघि अभिनयबाट सन्न्यास लिएको घोषणा गरेका थिए । उनको अन्तिम फिल्म ‘जन नायगन’ (जन नेता) कानुनी झमेलामा फसेका कारण प्रदर्शन हुन सकेको छैन ।