
साउथ इन्डस्ट्रीको सर्वाधिक चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दाना विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार भारतको राजस्थान राज्यमा अवस्थित उदयपुरको लग्जूरियस रिसोर्टमा उनीहरूले तेलुगू र कोडवा रीतिरिवाज अनुसार विवाह गरेका हुन् । विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्य र केही फिल्मकर्मीहरूको उपस्थिति रहेको थियो ।
विजय र रश्मिकाले विवाह समारोहमा मोबाइल र क्यामेरा प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएका थिए । जसले गर्दा विवाहका तस्वीर बाहिर आउन सकेको थिएन । अन्ततः उनीहरू स्वयंले बिहीबार साँझ आ-आफ्नो सामाजिक सञ्जालमार्फत विवाहका तस्वीरहरू सार्वजनिक गरेका छन् । दुवै विवाहको परम्परागत पहिरनमा आकर्षक देखिएका छन् ।
रश्मिकाले विवाहको तस्वीर इन्स्टाग्राममा पोस्ट गर्दै क्याप्सनमा लेखेकी छन्, ‘म अब तपाईंहरूलाई चिनाउँदै छु, मेरो श्रीमान् श्री विजय देवरकोन्डा । त्यो व्यक्ति, जसले मलाई साँचो प्रेमको महसुस र शान्तिको अनुभव गरायो । मलाई हरेक दिन भन्यो कि ठूलो सपना देख्नु एकदम सही हो । र, सधैं मलाई यो विश्वास दिलायो कि म आफ्नो सोचभन्दा पनि कयौं ज्यादा हासिल गर्न सक्छु ।’
उनले विजयको बारेमा आफूले एउटा किताब नै लेख्न सक्ने उल्लेख गरेकी छिन् । विजयलाई ‘विज्जू’ भन्दै उनले अगाडि लेखेकी छन्, ‘म आज त्यो महिला बनेकी छु, जसको मैले सधैं सपना देखेकी थिएँ । र, त्यो बनाउनमा तपाईंको नै ठूलो भूमिका छ । म साँच्चै आफूलाई भाग्यमानी ठान्छु ।’ उनले विजयप्रति आफ्नो भावना व्यक्त गर्न शब्द नै कम हुने समेत बताएकी छन् ।
सन् २०१७ मा विजय र रश्मिकाको पहिलो पटक भेट भएको थियो । उनीहरू फिल्म ‘गीता गोविन्दम’को सेटमा मिलेका थिए । त्यसपछि विस्तारै एकअर्कासँग घुलमिल भएका उनीहरूको सन् २०२३ देखि अफेयरको हल्ला चल्न थालेको थियो । सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘डियर कमरेड’मा उनीहरूको केमेस्ट्री दर्शकले अत्याधिक रुचाएका थिए ।

