Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमाको भूमिका गर्छु, तर टाइपकास्ट हुनु छैन : उषा रजक

फिल्मीखबर, काठमाडौं, 2026/02/26

Usha Rajak

 

विश्वमै हेर्ने हो भने कतिपय अभिनेत्रीहरू करिअरको उत्तरार्धमा पनि फिल्ममा आमाको भूमिका गर्न रुचि देखाउँदैनन् । झन् फिल्ममा स्थापित हुन संघर्ष गरिरहेका अभिनेत्रीहरू त यस किसिमको भूमिकाबाट टाढै रहन्छन् । यसले भविष्यमा फिल्ममा हिरोइन बन्न अवसर नै नदिने धेरैको बुझाइ छ । यसैले उनीहरू सकभर मुख्य अभिनेत्रीको भूमिकाकै खोजीमा रहन्छन् । 

तर, अभिनेत्री उषा रजक उमेरले ४० पनि नपुग्दै फिल्ममा आमाको भूमिकामा देखिन थालेकी छन् । उनले आफ्नो नयाँ फिल्म ‘लालिमा’मा आमाको भूमिका निभाएकी छिन् । उनको छोरीको भूमिकामा रोश्नी कार्की छिन् । सुरूमा उषालाई यो फिल्ममा मुख्य भूमिका नै अफर भएको थियो । तर, उनी आफैँले आमाको भूमिकामा अभिनय गर्ने निर्णय गरिन् । 

उनले बिहीबार पत्रकारसँगको एक भेटमा भनिन्, ‘मलाई सुरूमा निर्देशकले लालिमा पात्रको भूमिका नै अफर गर्नुभएको थियो । तर, कथा पढिसकेपछि मैले आमाको रोल गर्छु भनेँ । किनकि, त्यसको एक साताअघि फेसबुकमा मलाई ‘अब आमाको भूमिका गर्नुस्’ भनेर केही कमेन्ट आएको थियो । त्यो कुराले मलाई छोएको थियो । यसैले यसमा मैले आमाको भूमिका गर्ने निर्णय गरेँ ।’ 

उनलाई फिल्ममा आमा, दिदी वा भाउजुको भूमिका गर्नु नराम्रो हो भन्ने लाग्दैन । भन्छिन्, ‘विशेषगरी दक्षिण एसियाली राष्ट्रमा उमेर ढल्किएपछि आमा, दिदी वा भाउजुको भूमिका गर्न मात्र योग्य ठानिन्छ । मैले त छानेरै ‘लालिमा’मा आमाको भूमिका गरेँ । आमा वा दिदीको भूमिका खेल्नु नराम्रो होइन । कलाकारको रूपमा कथालाई अगाडि सार्नु चाहिँ हाम्रो दायित्व हो ।’

उषा भविष्यमा पनि आमाको भूमिका गर्न आफू तयार रहेको बताउँछिन् । तर, उनलाई टाइपकास्ट भने हुनु छैन । ‘म टाइपकास्ट हुँदिनँ भनेरै आम्दानीका लागि जागिर पनि खाइरहेकी छु । यसले गर्दा मैले भूमिका छान्न पाएकी छु,’ उनी भन्छिन्, ‘आम्दानीको स्रोत कलाकारिता मात्र भयो भने म डुब्छु । त्यो हुँदा जस्तो भूमिका पनि गर्नुपर्छ । तर, मैले छान्न पाउने क्षमता बनाएकी छु ।’

पछिल्लो समय जानीजानी आफूले सहायक भूमिकामा काम गरिरहेको उनको भनाइ छ । उनी सहायक पात्रलाई पनि बलियो बनाउनुपर्छ भन्ने मान्छिन् । ‘लिडमा हुँदा डाइलगहरू पनि राम्रो हुन्छ । सहायक पात्रलाई चाहिँ देखाउनका लागि मात्र राखिन्छ । त्यसमा कुनै गहन चिज नै हुँदैन । तर, मैले लेखकहरूलाई सहायक पात्रलाई पनि बुलन्द पार्नुपर्छ भन्दै आएकी छु,’ उषाले भनिन् ।