.jpg)
यतिबेला नेतादेखि कलाकारसम्मलाई चुनाव लागेको छ । केही कलाकारहरू आफैँ उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् भने कति कलाकारहरू आफ्नो क्षेत्रका उम्मेदवारलाई जिताउन घरदैलो र सामाजिक सञ्जालमार्फत खुलेरै मत मागिरहेका छन् । यसपटक प्रायः कलाकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूलाई समर्थन गरेको देखिन्छ ।
रास्वपाका उम्मेदवारहरूलाई जिताउन मैदानमै उत्रिनेमा अभिनेत्री रेजिना उप्रेती पनि पर्छिन् । उनले धादिङ र काठमाडौंका केही रास्वपा उम्मेदवारका लागि सामाजिक सञ्जालदेखि घरदैलो कार्यक्रममा सहभागी भएर भोट मागिरहेकी छन् । आफ्नो निर्वाचन क्षेत्र धादिङ-१ की रास्वपा उम्मेदवार आशिका तामाङका लागि त उनी आफैँ उम्मेदवार भए जसरी घरदैलो गरिरहेकी छन् ।
केही सातायता उनको फेसबुक र टिकटक समेत रास्वपामय बनेको छ । उनले फेसबुकमार्फत रास्वपाका लागि मत माग्नेदेखि विभिन्न विषयमा भिडियो बनाउँदै जनतालाई सचेत पनि गराइरहेकी छन् । रास्वपाको प्रचार गर्न उनी सञ्चारमाध्यममा अन्तर्वार्ता समेत दिँदै हिँडेकी छन् । उनका प्रायः अन्तर्वार्ताहरू रवि लामिछाने र बालेन शाहको गुनगानमा बढी केन्द्रित भएका देखिन्छन् ।
रेजिनाको कामको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म ‘मोदीबेनी’मा देखिएकी थिइन् । यो फिल्ममा उनी अभिनेत्री वर्षा सिवाकोटीकी आमाको भूमिकामा थिइन् । यसपछि भने उनले कुनै फिल्ममा काम गरेकी छैनन् । ‘अग्नी ज्वाला’, ‘दुर्गा’, ‘खानदान’, ‘कानुन’ जस्ता फिल्मका लागि परिचित उनले सन् २०१३ मा ‘वरदान’ नामक फिल्म निर्माण समेत गरेकी थिइन् ।

