Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालिमा’को पात्रका लागि यौनकर्मीहरूलाई भेटेँ : रोश्नी कार्की

फिल्मीखबर, काठमाडौं, 2026/02/24

Roshni Karki

 

रंगमञ्च र म्यूजिक भिडियोकी स्थापित कलाकार हुन्, रोश्नी कार्की । करिब एक दर्जन नाटक र २ सयभन्दा बढी भिडियोमा अभिनय गरिसकेकी उनको पछिल्लो समय फिल्ममा पनि व्यस्तता बढ्न थालेको छ । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘श्री बुकुरो’ फागुन १ गते प्रदर्शन भएको थियो । अब उनको नयाँ फिल्म ‘लालिमा’ फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ । 

यो फिल्ममा रोश्नीले चुनौतीपूर्ण भूमिकामा अभिनय गरेकी छन् । यसमा उनी लालिमा पात्रको भूमिकामा छिन्, जो पेसाले यौनकर्मी हुन् । यो पात्र निर्माणका लागि उनले यौनकर्मीहरूलाई समेत भेटेकी थिइन् । उनी भन्छिन्, ‘मैले चिनेका कोही यौनकर्मी थिएनन् । हुन त आफूलाई यौनकर्मी बताउने को नै हुन्छ र ? तर, मैले फिल्मको पात्र निर्माणका लागि यौनकर्मीसँग भेट्नै पर्ने थियो ।’ 

यौनकर्मीहरूको मानसिकता बुझ्न उनले निर्माताको सहयोगमा १० जना यौनकर्मीसँग प्रत्यक्ष भेट गरिन् । उनीहरूसँग कुराकानी भएपछि आफूलाई पात्रमा डुब्न ठूलो सहयोग मिलेको उनी बताउँछिन् । भन्छिन्, ‘यौनकर्मीहरूसँग मैले कुराकानी गरेँ । उहाँहरूले आफ्नो समस्या, पीडा र मनोदशा सुनाउनुभयो, जसले गर्दा मलाई पात्र निर्माणमा निकै सहयोग मिल्यो ।’

उनी आफूले भेटेका अधिकांश यौनकर्मीहरू कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्मका रहेको बताउँछिन् । ‘सबै आर्थिक समस्याका कारणले नै यो पेसामा आउन बाध्य भएको पाएँ । यो पेसामा लाग्ने किशोरीदेखि अधवैँश उमेरसम्मका महिलाहरू छन् । उनीहरू आफ्नो आर्थिक समस्या टार्नका लागि मात्र यो पेसामा आएका छन्,’ उनले भनिन् । 

‘लालिमा’मा आफू यौनकर्मीहरूको सशक्त आवाज बनेर प्रस्तुत भएको रोश्नीको भनाइ छ । उनी अगाडि भन्छिन्, ‘कलाकारको रूपमा म उहाँहरूको आवाज बनेकी छु । उहाँहरूका लागि मैले गर्न सक्ने काम पात्रमार्फत गरेको छु । कम्तीमा मैले उहाँहरूको मानसिकता, बाध्यता र समस्यालाई पर्दामा उतार्ने प्रयास गरेकी छु । यो मेरो लागि पनि एउटा नयाँ अनुभव रह्यो ।’ 

रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा रोश्नीसहित सुष्मा निरौला, शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सबिन कट्टेल लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । रीना लामा कार्यकारी निर्माता रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । यो फिल्म ३ हजार यौनकर्मी महिलाको अनुभवमा आधारित रहेको बताइएको छ ।