.jpg)
चर्चित नृत्याङ्गना तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यु गरेको फिल्म ‘मितज्यू’को छायांकन सकिएको छ । यो फिल्मको वसन्त पञ्चमीको अवसरमा दाङको घोराहीमा अवस्थित अम्बिकेश्वरी मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरू गरिएको थियो । सोमबार पहाडी जिल्ला रोल्पामा अन्तिम दृश्य खिचिएसँगै एक महिनामा फिल्म ‘प्याकअप’ भएको हो ।
अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको निर्माणमा बनेको यस फिल्ममा तेरियासहित दयाहाङ राई, सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
शिशिर बिशंखेको छायांकन रहेको यस फिल्मको सम्पादन लोकेश बज्राचार्यले गर्नेछन् । फिल्ममा प्रभात विष्ट द्वन्द्व निर्देशक, नवीन श्रेष्ठ साउन्ड डिजाइनर तथा श्रीकृष्ण बम मल्ल संगीतकारको रूपमा छन् । आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
‘मितज्यू’लाई सामाजिक कथावस्तुमा आधारित फिल्म भनिएको छ । तर, यसको कथावस्तुबारे निर्माण पक्षले जानकारी गराएको छैन । शीर्षकले भने मीत संस्कृतिको कथामा फिल्म आधारित रहेको संकेत गर्छ । पछिल्लो समय नेपाली समाजमा हराउन थालेको मितेरी साइनोको विषयलाई फिल्ममा उठाइएको हुनसक्ने शीर्षकबाट अनुमान लगाउन सकिन्छ ।

