Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’ बन्यो यस वर्षको धेरै कमाउने तेस्रो फिल्म, ‘ऊनको स्वीटर’लाई उछिन्यो

फिल्मीखबर, काठमाडौं, 2026/02/23

aa bata aama

 

यस वर्ष नेपाली फिल्मबीच एकअर्काको व्यापारलाई उछिन्ने रोचक प्रतिस्पर्धा चलिरहेको छ । गत कात्तिकमा ‘ऊनको स्वीटर’को व्यापारलाई उछिन्दै ‘जेरी अन टप’ यस वर्षको सर्वाधिक कमाउने फिल्म बनेको थियो । तर, त्यसको एक महिनामै ‘परान’ले ‘जेरी अन टप’लाई उछिन्यो । यतिबेला भने यी तीन फिल्मको व्यापारलाई ‘आ बाट आमा’ले चुनौती दिइरहेको छ । 

यसैक्रममा सोमबार यो फिल्मले एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यसले ‘ऊनको स्वीटर’लाई पछि पार्दै यस वर्ष धेरै कमाउने तेस्रो फिल्मको रूपमा आफ्नो नाम लेखाएको छ । यो फिल्मले सिनेपाः बक्स अफिसमा सोमबार दिउँसो ३ बजेसम्म ११ करोड ४३ लाखभन्दा बढीको व्यापार गरेको देखिन्छ । ‘ऊनको स्वीटर’को व्यापार ११ करोड ४१ लाख रुपैयाँ ग्रस थियो । 

अब ‘आ बाट आमा’ यस वर्षको दोस्रो धेरै कमाउने फिल्म बन्ने लक्ष्यमा देखिन्छ । त्यसका लागि यो फिल्मले ‘जेरी अन टप’को कुल व्यापारलाई उछिन्नुपर्छ । यसले १२ करोड २६ लाख ६ हजार रुपैयाँ ग्रस कमाइ गरेको थियो । चौथो सातामा पनि फिल्मको दैनिक व्यापार १० लाखमाथि रहेकाले प्रतिनिधि सभाको निर्वाचनभन्दा अघि नै ‘जेरी अन टप’को रेकर्ड तोडिने प्रवल सम्भावना देखिन्छ ।

यस वर्षको सर्वाधिक कमाउने फिल्मको कीर्तिमान भने ‘परान’को नाममा छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक अनुसार यो फिल्मले १७ करोड ७७ लाख रुपैयाँ ग्रस कमाएको छ । यसको व्यापारलाई पनि ‘आ बाट आमा’ले उछिनेको खण्डमा यो नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने चौथो र यस वर्ष धेरै कमाउने पहिलो फिल्म बन्नेछ । 

चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, रचना गौतम लगायतको अभिनय रहेको छ । आइतबार मात्र यो फिल्मको सिक्वेल निर्माणको घोषणा गरिएको छ । पल स्वयंको मुख्य भूमिका रहने ‘आ बाट आमा २’लाई आउँदो वर्षको दशैंमा प्रदर्शन गरिनेछ ।