.jpg)
गत शुक्रबार अभिनेत्री नीति शाह प्रेमी याञ्चित राणासँग वैवाहिक जीवनमा बाँधिइन् । विवाहपूर्व ब्याचलर पार्टीदेखि संगीत र मेहन्दी कार्यक्रममा रमाएका उनीहरूले आइतबार साँझ काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सानदार रिसेप्सन पार्टी आयोजना गरेका थिए, जहाँ कलाकारदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यतिबेला सामाजिक सञ्जालमा भने नीति र याञ्चितको विवाहका भिडियोहरू व्यापक छाइरहेका छन् । उनीहरूले विवाहमा एकअर्काको खुट्टा ढोगेको भिडियोले त बहस नै जन्माएको छ । कतिपयले यस्ता गतिविधिले नेपालको संस्कार र परम्परा कमजोर बनाउने भन्दै आलोचना गरेका छन् भने कतिपयले एकअर्काप्रतिको सम्मानको रूपमा प्रशंसा गरेका छन् ।
रिसेप्सन पार्टीमा याञ्चितले विवाहमा नीतिको खुट्टा ढोगेकोबारे प्रष्टीकरण नै दिएका छन् । उनले नीतिलाई आफूले सम्मान गरेर खुट्टा ढोगेको बताए । उनले भने, ‘उसले मलाई सम्मान गरेर ढोगेको थियो । मैले पनि उसलाई सम्मान गरेर नै ढोगेको हुँ । उसले मेरो खुट्टा ढोगेपछि मैले ‘इक्वालिटी’ र सम्मान गरेको हुँ । यो कुनै ठूलो कुरा होइन । म उसलाई माया र सम्मान गर्छु ।’
सोही अवसरमा नीतिलाई पत्रकारहरूले अबको फिल्म करिअरबारे प्रश्न गरेका थिए । उनले केही दिनमा आफू नयाँ फिल्मको छायांकनमा व्यस्त हुने बताइन् । उनले भनिन्, ‘म अभिनयलाई निरन्तरता नै दिन्छु । २-३ दिनपछि नयाँ फिल्मको छायांकन सुरू हुँदैछ । अब त्यसैको छायांकनमा निस्किँदैछु ।’ उनले यसै साताबाट फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सुरू गर्दैछिन् ।

