Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ बुँदे एजेन्डासहित मतदाता फकाउँदै निशा

फिल्मीखबर, काठमाडौं, 2026/02/22

Nisha Adhikari

 

फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा देश चुनावमय बनेको छ । यतिबेला उम्मेदवारहरू विभिन्न योजना र एजेन्डासहित मतदाता फकाउन घरदैलो गरिरहेका छन् । यसपटकको निर्वाचनमा केही चर्चित कलाकारहरू पनि उम्मेदवार बनेका छन् । त्यसमध्ये एक हुन्, निशा अधिकारी । उनी काठमाडौं-५ बाट उम्मेदवार बनेकी छन् ।

यही क्षेत्रकी मतदाता रहेकी निशाले ‘सगरमाथादेखि सदनसम्म’ भन्ने नारासहित चुनावी अभियान चलाइरहेकी छन् । मतदातासँग घरदेखि सडकसम्म भेट गरेका तस्वीर तथा भिडियोहरू दैनिक रूपमा आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी उनले क्षेत्र नं. ५ मा पर्ने विभिन्न वडाका युवादेखि वृद्धवृद्धासँग सामुहिक छलफल समेत गरेको देख्न सकिन्छ । 

निशाले आफ्नो चुनावी घोषणापत्र समेत जारी गरिसकेकी छन् । उनको ५ बुँदे घोषणापत्रमा दिगो रोजगारी, उद्यमशीलता र सहज व्यावसायिक वातावरण, महिलाको अर्थपूर्ण सहभागिता र स्वास्थ्य अधिकार, सरक्षित पूर्वाधार, स्वस्थ्य वातावरण र दिगो सहरी जीवन, खेलकुद, कला र सिर्जनशील अर्थतन्त्र र जेष्ठ नागरिक स्वाभिमान, सम्मान र सुरक्षित जीवन जस्ता एजेन्डा समावेश छन् ।

निशा ब्याट्री चुनाव चिन्ह भएको गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी हुन् । उनी यस पार्टीकी केन्द्रीय सदस्य समेत हुन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा नेपाली कांग्रेसबाट प्रदीप पौडेल, एमालेबाट ईश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सस्मित पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट कल्पना शर्मा लगायत चुनावी प्रतिस्पर्धामा छन् ।

सन् २००९ मा रिलिज भएको फिल्म ‘मिसन पैसा’बाट अभिनय करिअर सुरु गरेकी निशाले अहिलेसम्म लगभग ३० वटा फिल्ममा काम गरिसकेकी छन् । उनी पछिल्लो पटक फिल्म ‘आँखा’मा देखिएकी थिइन्, जुन २०२४ मा रिलिज भएको थियो । सन् २०१७ मा आफ्नै लगानीमा फिल्म ‘झ्यानाकुटी’ समेत बनाएकी उनी अब यसको दोस्रो श्रृंखला (सिक्वेल) निर्माण गर्ने तयारीमा छिन् ।