Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पललाई लिएर ‘आ बाट आमा २’ बन्ने, आउँदो दसैँमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2026/02/22

aa bata aama 2

 

यस वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माता कम्पनी आर्या इन्टरटेन्मेन्टले आइतबार अभिनेता पल शाहको जन्मदिनको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै ‘आ बाट आमा २’ निर्माणको घोषणा गरेको हो । २०८३ सालको विजयादशमी (दसैँ)मा फिल्म प्रदर्शन हुने पोस्टरमा उल्लेख छ । 

सार्वजनिक पोस्टरमा ‘रियल सुपरस्टार’को ट्याग दिँदै पललाई मात्र प्रस्तुत गरिएको छ । उनी लामो कपाल (विग)सहित धुस्रैफुस्रै देखिएका छन् भने खुट्टाको गोलीगाँठाबाट रगत बगेको छ । उनको हुलिया हेर्दा फिल्ममा उनी मानसिक रूपमा विचलित पात्रको भूमिकामा प्रस्तुत हुने अनुमान लगाउन सकिन्छ । पोस्टरको पृष्ठभूमिमा भने उनी मुस्कुराइरहेका देखिन्छन् ।

यो फिल्मलाई दशैंको जमरा र आमाको पर्खाइको कथा भनिएको छ । र, फिल्मको ट्यागलाइन राखिएको छ, ‘आउँछु भन्ने एउटा झुटो आशामा आमा वर्षेनि जमरा छरिरहन्छिन् ।’ यसले फिल्मको कथा सन्तानप्रति आमाको माया र दसैँको परिवेशमा आधारित रहेको प्रस्ट पार्छ । चन्द्र पन्तले निर्देशन गर्ने यस फिल्ममा ‘आ बाट आमा’कै धेरैजसो कलाकार दोहोरिने जनाइएको छ ।

गत माघ १६ गते प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा ११ करोडको व्यापार गरिसकेको छ । चुनावअघिसम्म फिल्मले १२ करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । बाबुआमा र सन्तानबीचको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मले विशेषगरी हलमा पारिवारिक दर्शक तानिरहेको छ ।