.jpg)
फिल्म ‘जेरी अन टप’को नामदेखि कलाकार परिवर्तनको विवाद जगजाहेर छ । फिल्मको पोस्टर फोटोसुटमा नआएको भन्दै निमाण पक्षले अभिनेत्री आना शर्मालाई हटाएर उनको ठाउँमा जसिता गुरुङलाई अनुबन्धित गरेको थियो । आनालाई फिल्मबाट हटाउँदै गर्दा यसका निर्माता सरोज न्यौपानेले उनले व्यावसायिकता नदेखाएको आरोप लगाएका थिए ।
आफूलाई जानकारी नदिइ फिल्मबाट हटाएपछि आनाले पनि सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै निर्माता न्यौपानेले आफ्नो मानमर्दन र प्रतिष्ठामा हिलो छ्याप्ने काम गरेको बताएकी थिइन् । उनले निर्मातालाई प्रश्न गर्दै भनेकी थिइन्, ‘फिल्मको टोलीले महिनौंसम्म मेरो नाम लिएर प्रचार गरे । तर, मलाई हटाइँदा एक शब्द पनि जानकारी दिइएन । यो कहाँको व्यावसायिक धर्म हो ?’
‘जेरी अन टप’को विवादपछि आना र सरोजबीच पानी बाराबारकै अवस्था थियो । तर, फिल्म क्षेत्रमा मित्रता र दुश्मनी दिगो हुँदैन भनेझैँ अहिले फेरि उनीहरूबीच निकटता बढेको छ । शनिबार आनाको निमन्त्रणमा उनको नयाँ फिल्म ‘रमिताको पिरती’ हेर्न सरोज ललितपुरको लबिम मल पुगेका थिए । र, फिल्म हेरिसकेपछि उनले आनाको मुक्तकण्ठले प्रशंसा गरे ।
उनले आना आफ्नो ‘अलटाइम फेभरेट’ रहेको बताए । उनले भने, ‘आना राम्रो अभिनय गर्ने कलाकार हो । फिल्मका लागि मेरो पहिलो रोजाइ सधैं आना नै हुने गर्छ । कुनै प्रोजेक्ट गर्दा सुरूमा म आनालाई नै सोध्छु होला । उसले नगर्ने भएपछि मात्र अरूबारे सोच्छु । अहिले म एउटा फिल्मको तयारीमा छु । सायद त्यसमा आनालाई सुहाउने भूमिका भयो भने अवश्य अफर गर्नेछु ।’
सरोजलाई पत्रकारहरूले ‘जेरी अन टप’बाट आनालाई हटाएको विषयमा पनि प्रश्न गरेका थिए । पहिला आनाले व्यावसायिकता नदेखाएको भन्दै फिल्मबाट हटाएको दाबी गरेका उनले आनाको सामुन्नेमा भने बोली फेरे । उनले फिल्मबाट आनालाई हटाएको नभइ त्यस बेला उनको समय नमिलेका कारण समझदारीमै अलग भएको बताए ।
आनाले भने ‘जेरी अन टप’को विषयमा आफूहरूबीच केही गलत बुझाइ भएको बताइन् । उनले सञ्चारकर्मीसँग भनिन्, ‘त्यो बेला मैले सीधा रूपमा कसैलाई लक्षित गरेर पोस्ट लेखेको जस्तो लाग्दैन । हामीबीच धेरै ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको थियो होला । तर, यी सिक्दै जाने कुराहरू हुन् ।’ उनले निर्माता न्यौपानेसँग आगामी फिल्ममा सहकार्य गर्ने इच्छा पनि व्यक्त गरिन् ।

