
यस वर्ष व्यावसायिक रूपमा सफल ठहरिएको फिल्म ‘मोहर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । शुक्रबार निर्माता कम्पनी फिल्ममेकर्स प्रालिले थिम पोस्टर सार्वजनिक गर्दै ‘मोहर २’को निर्माण घोषणा गरेको हो । यस फिल्मलाई ओम प्रतीकले निर्देशन गर्नेछन् भने प्रस्तुतकर्तामा चुम्बन जंग शाही रहनेछन् । फिल्मको छायांकन अर्को वर्षको मध्यतिर हुने जनाइएको छ ।
घरेलु बक्स अफिसमा ५ करोडमाथिको व्यापार गरेको ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको थियो । यसको सिक्वेलमा पनि उनीहरूलाई नै दोहोर्याउने योजनामा निर्माण पक्ष रहेको छ । निर्देशक प्रतीकका अनुसार पलसहितका कलाकारलाई दोहोर्याउने गरी अहिले स्क्रिप्टमा काम भइरहेको छ ।
कलाकारबारे उनले फिल्मीखबरसँग भने, ‘फिल्ममा पुरानो कास्ट नै दोहोरिने सम्भावना धेरै छ । त्यही अनुसार स्क्रिप्टमा वर्कआउट गरिरहेका छौं । तर, यो फिल्मभन्दा अगाडि म अर्को फिल्म गर्दैछु । त्यसपछि ‘मोहर २’ बनाउने कुरा छ ।’ यो फिल्म प्रिक्वेलको रूपमा निर्माण हुनसक्ने उनको भनाइ छ । अर्थात् ‘मोहर’भन्दा अगाडिको समयको कथामा फिल्म बन्नेछ ।
देउकी प्रथा (मन्दिरमा भाकल गरेर कन्या चढाउने प्रचलन)मा आधारित ‘मोहर’मा पल, बेनिशा र नीतिको अभिनयको दर्शकहरूले निकै प्रशंसा गरेका थिए । यो नीतिको करिअरकै पहिलो सफल फिल्म समेत हो । पलले पनि मुख्य अभिनेताको रूपमा जेल जीवनपछि पाएको यो पहिलो सफल फिल्म थियो । बेनिशाको भने करिब डेढ दशक लामो करिअरमा यो दोस्रो हिट फिल्म हो ।

