
कुनै फिल्म प्रदर्शनमा आउँदा दुईवटा कुराको अपेक्षा गरिन्छ, कि बक्स अफिसमा ठूलो कमाइ, कि त दर्शक र समीक्षकको प्रशंसा । तर, कहिलेकाहीँ यस्तो विरोधाभास पनि देखिन्छ, जहाँ फिल्म प्रशंसित भए पनि निर्माताको लगानी डुब्छ । हालै प्रदर्शनमा आएको लभस्टोरी फिल्म ‘कुमारी’ले पनि यही नियति भोग्नुपर्यो । दर्शकबाट प्रशंसाका बाबजुद यो फिल्म असफल भएको छ ।
निर्माता महेन्द्र अधिकारीका लागि ‘कुमारी’को व्यावसायिक असफलता एउटा ठूलो पाठ बनेको छ । उनी यस नतिजालाई लुकाउन चाहँदैनन्, बरु निर्मम समीक्षा गर्न तयार देखिन्छन् । उनी भन्छन्, ‘हरेक व्यवसायको उद्देश्य नाफा कमाउनु नै हुन्छ । तर, सधैँ सोचेजस्तो नतिजा नआउन सक्छ । यस्तो अवस्थामा समस्याको कारण पत्ता लगाएर समाधान गर्नुपर्छ ।’
एउटा फिल्म असफल हुँदा त्यसमा लगानी गर्ने निर्मातालाई आर्थिक र मानसिक दबाब बढ्ने उनको अनुभव छ । भन्छन्, ‘सोचे अनुसार व्यापार नहुँदा निर्मातामा नकारात्मक असर त पर्छ नै । किनकि, फिल्मसँग जोडिएका कलाकारदेखि प्राविधिकसम्मको आशाको केन्द्रबिन्दु नै निर्माता हुन् । त्यसैले जब लगानी डुब्छ, तब निर्मातालाई चौतर्फी दबाब महसुस हुन्छ ।’
तर, महेन्द्र ‘कुमारी’को व्यावसायिक असफलताबाट हतासिएका छैनन् । न त निराश र उदासीन छन् । बरु विगतका कमजोरीबाट सिक्दै अझ संवेदनशील भएर अगाडि बढ्ने सोचमा छन् उनी । चाँडै नयाँ फिल्म बनाउने योजनामा रहेका उनी भन्छन्, ‘विगतका फिल्ममा भएका कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्ट गर्नुलाई म सकारात्मक नै मान्छु ।’
‘कुमारी’मा ठूलो लगानी गरेका कारण उनलाई बजारमा ‘आँटिलो निर्माता’ समेत भन्न थालिएको छ । तर, उनी यसलाई ‘आँट’भन्दा पनि पेसाप्रतिको इमानदारिता र जिम्मेवारी मान्छन् । ‘फिल्म निर्माण केवल लगानी मात्र नभएर रहर र जिम्मेवारी पनि हो,’ उनी भन्छन्, ‘दर्शकलाई गुणस्तरीय सामग्री दिनु हाम्रो दायित्व हो । मेरा दुई फिल्म ‘प्रकाश’ र ‘कुमारी’ यसका उदाहरण हुन् ।’

