Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालेनको युट्युब च्यानलबाट रिलिज भयो ‘झरीपछिको इन्द्रेणी’

फिल्मीखबर, काठमाडौं, 2026/02/19

JHARI PACHHI KO INDRENI

 

‘पाँडे’को रूपमा परिचित हास्य कलाकार अर्जुन घिमिरेको निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ हल रिलिजको २ महिनामै निःशुल्क डिजिटल प्लेटफर्म युट्युबमा आएको छ । बिहीबार निर्माताले काठमाडौंका पूर्वमेयर तथा र्‍यापर बालेन शाहको युट्युब च्यानलबाट फिल्म रिलिज गरेका हुन् । यो फिल्ममा बालेनले पनि एक गीत गाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भावी प्रधानमन्त्रीका उम्मेदवार शाहको युट्युब च्यानलबाट प्रतिनिधि सभा चुनावको संघारमा यो फिल्म रिलिज गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालमा बढ्दो भ्रष्टचार, बेथिती र विसंगतिविरूद्धको कथावस्तुमा आधारित यस फिल्मले चुनावमा ठूलो प्रभाव पार्ने देखिन्छ । कतिपयले यसलाई बालेनको चुनावी रणनीति समेत भनेका छन् ।

गत पुष ४ गते प्रदर्शन भएको ‘झरीपछिको इन्द्रेणी’ व्यावसायिक रूपमा असफल भएको थियो । यो फिल्मले प्रदर्शन अवधिसम्म १ करोड २८ लाख ५२ रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्स अफिस तथ्यांकमा देखिन्छ । फिल्म फ्लप भए पनि यसमा बालेनले गाएको ‘आम नेपाली बुबा’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको छ । 

निर्देशक घिमिरे स्वयंको कथा रहेको यस फिल्ममा अर्जुनसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी, जेसिका पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मको छायांकन बुद्ध थापाले गरेका हुन् ।