Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’को व्यापार १० करोड पार, बन्ला वर्षकै धेरै कमाउने फिल्म ?

फिल्मीखबर, काठमाडौं, 2026/02/19

paul shah

 

यस वर्ष १० करोड कमाउने नेपाली फिल्मको संख्या चार पुगेको छ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा दोहोरो अंकको व्यापार गरेसँगै यस वर्ष १० करोड ग्रस कमाउने यो चौथो फिल्म बनेको छ । यसअघि तीन फिल्म ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले १० करोडभन्दा बढीको व्यापार गरेका थिए । 

‘आ बाट आमा’ले बुधबार साँझसम्म १० करोडमाथि कमाएको चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्स अफिसमा देखिन्छ । योसँगै फिल्म सुपरहिट बनेको छ भने अब ब्लकबस्टरको बाटोमा अगाडि बढेको छ । प्रदर्शनको तेस्रो सातामा पनि दैनिक ३० लाखमाथिको व्यापार गरिरहेको यो फिल्मले चुनावअघिसम्म १२ करोडको आँकडा पार गर्न सक्ने अनुमान गरिएको छ । 

अब धेरैको चासो ‘आ बाट आमा’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्छ कि सक्दैन भन्नेमा छ । त्यसका लागि यो फिल्मले ‘परान’को कमाइलाई उछिन्नु पर्ने हुन्छ । यसले १७ करोड ८४ लाख ४७ हजार रुपैयाँ ग्रस कमाएको थियो । फागुन २१ गते प्रतिनिधि सभाको चुनाव भएकाले ‘आ बाट आमा’लाई ‘परान’को कमाइ उछिन्न सहज भने देखिँदैन ।

आमा र छोराको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम लगायतको अभिनय रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन् ।