.jpg)
अभिनेत्री तथा पूर्वमिस इन्टरनेशनल नीति शाह भोलि (शुक्रबार) विवाह बन्धनमा बाँधिँदैछिन् । प्रेमी याञ्चित राणासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । गत बैशाखमै कानूनी विवाह गरिसकेका उनीहरूले यतिबेला काठमाडौंका विभिन्न भेन्यूमा संगीतदेखि मेहेन्दी कार्यक्रम आयोजना गरिरहेका छन् । बुधबार लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टमा संगीत कार्यक्रम राखिएको थियो ।
नीति र याञ्चितका आफन्त र साथीभाइको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी, ओसिन सिटौला, अश्मी श्रेष्ठ, आकृति राजभण्डारी लगायतले आफ्नो विशेष प्रस्तुति पनि दिएका थिए । पल र बेनिशाले ‘मैसाबले’, ‘झुमझुम झुम्केका’, ‘जनम् जनम् जिउला सँगै’ जस्ता गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै, आकृतिले आफ्नो डेब्यु फिल्म ‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने निगालो चोयाले’मा नृत्य गर्दा सन्ध्या र ओसिन हिन्दी फिल्म ‘देवदास’को ‘डोला रे डोला रे’ गीतमा छमछमी नाचेका थिए । कार्यक्रममा नीति र याञ्चितले पनि एकल र संयुक्त रूपमा नृत्य प्रस्तुत गरे । उनीहरूले ‘बार्दली’, ‘तिमी त मेरो बेहुली’ जस्ता गीतमा रोमान्टिक नृत्य गर्दा माहोल रोमाञ्चक बनेको थियो ।
नीति र याञ्चितको विवाह समारोहको दोस्रो दिन बिहीबार (आज) मेहेन्दी सेरेमनी राखिएको छ । यसअघि उनीहरूले पोखरामा प्रि-वेडिङ फोटोसुटसँगै आफ्ना साथीहरूसँग सीक्रेट ब्याचलर पार्टी मनाएका थिए । शुक्रबार काठमाडौंमा हुने विवाह समारोहमा उपस्थितिका लागि नीतिले राजेश हमालदेखि अनमोल केसीसम्मलाई निम्तो पठाएको जानकारी प्राप्त छ ।

