Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म नचलेपछि रिलिज स्थगितको नाटक

फिल्मीखबर, काठमाडौं, 2026/02/18

three movie

 

नेपालका नेता र फिल्मकर्मीहरूमा एउटा समानता छ । त्यो हो, सत्य स्वीकार नगर्ने प्रवृत्ति । जसरी नेताले आफ्नो गल्ती लुकाउन ढाकछोप गर्छन्, त्यसरी नै निर्माताहरू फिल्मको असफलता अस्वीकार गर्न विभिन्न बहाना बनाउँछन् । यस्तै प्रवृत्ति अहिले फेरि देखिएको छ । हलमा फिल्म हेर्ने दर्शकको हाहाकार भएपछि निर्माताहरूले अनेक बहाना बनाउँदै रिलिज स्थगित गरिरहेका छन् ।

मंगलबार तीन फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ले लगभग एकैसाथ रिलिज स्थगितको घोषणा गरे । यसमध्ये ‘बिगुल’ र ‘श्री बुकुरो’ले रिलिज रोक्न बनाएको बहाना एउटै थियो, आसन्न निर्वाचन । ‘शिवांश’का निर्माताले भने प्राइम टाइममा शोज नपाएका कारण प्रदर्शन स्थगित गरिएको जनाएका छन् । यी तीन फिल्म हलमा ५ दिन चलेपछि निर्माताले प्रदर्शन रोक्ने निर्णय गरेका हुन् ।

‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’को जुन कारण देखाएर रिलिज स्थगित गरिएको छ, त्यसमा सत्यता देखिँदैन । यी फिल्म धेरै हलबाट दर्शक अभावले आइतबार नै उत्रिसकेका थिए । प्रदर्शनको ५ दिनसम्म यी फिल्मलाई दैनिक ५० हजार कमाउन पनि हम्मे-हम्मे परेको थियो । यसैले ‘फ्लप’को ट्यागबाट जोगिन तीनवटै फिल्मका निर्माताले एउटा बहाना बनाएर रिलिज स्थगित गरेको देखिन्छ ।

एकातिर दर्शक नपाएका फिल्महरूले विभिन्न बहाना बनाउँदै रिलिज स्थगित गरिरहँदा अर्कोतिर फिल्म ‘आ बाट आमा’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । यो फिल्मको व्यापार १० करोड नजिक पुगिसकेको छ । यसलाई न चुनावले असर गरेको छ न प्राइम टाइमको शोज चाहिएको छ । दर्शकले नै नपत्याएका फिल्मका निर्माताहरूको भने अनेकथरी बहाना देखिन्छ ।

यसअघि पनि फिल्म नचलेपछि विभिन्न बहाना बनाएर रिलिज स्थगित गरिएका धेरै उदाहरण छन् । केही साताअघि फिल्म ‘द ब्लू लाइट’को प्रचार नपुगेको भन्दै रिलिज स्थगित गरिएको थियो । जबकि, यो फिल्मको दैनिक व्यापार २० हजार पनि थिएन । ‘रियाल रिङ्गेट’, ‘सेक्रेट अफ राधा’ जस्ता फिल्मका निर्माताले पनि कमाइ राम्रो नभएपछि विभिन्न बहाना बनाएर रिलिज स्थगन गरेका थिए ।

नेपालमा अहिलेसम्म जति पनि फिल्मको रिलिज स्थगित भएको छ, ती कुनै दर्शकलाई आकर्षित गर्न सफल थिएनन् । दर्शकले नै विश्वास नगरेपछि ‘फ्लप’को ट्याग लाग्ने डरले निर्माताहरूले फिल्मलाई हलबाट उतार्ने गरेको देखिन्छ । चलचित्र विकास बोर्डले साप्ताहिक रूपमा (हरेक सोमबार) नेपाली फिल्महरूको बक्स अफिस विवरण सार्वजनिक गर्न थालेपछि यो क्रम अझ बढेको छ ।