.jpg)
गत कात्तिकमा प्रदर्शन भएको फिल्म ‘परान’पछि तीन महिना नेपाली फिल्मको व्यापार मौसमजस्तै चिसियो । यो बीचमा एक दर्जन हाराहारी फिल्म रिलिज भए पनि कुनैले गतिलो व्यापार गर्न सकेनन् । तीन महिनामा करिब १० करोड रुपैयाँ बालुवामा पानी खन्याएजस्तै भयो । ‘स्टार’ भनिएका कलाकारको समेत फिल्म नचल्दा फिल्मकर्मीमा निराशा र अन्योलता छाएको थियो ।
धेरैले अब प्रतिनिधि सभा निर्वाचनभन्दा अघि फिल्म हेर्ने माहोल नबन्ने अड्कलबाजी गरिरहँदा माघ १६ गतेबाट प्रदर्शन भएको फिल्म ‘आ बाट आमा’ले संकटग्रस्त बक्स अफिसलाई उद्दार गरेको छ । चौथो साताको संघारमा रहेको यो फिल्मको व्यापार १० करोड नजिक पुगिसकेको छ । यसले फिल्म हेर्न दर्शकलाई चुनावी माहोलले कुनै फरक नपारेको स्पष्ट देखाउँछ ।
तर, ‘आ बाट आमा’ले उत्साहजक व्यापार गरिरहँदा अन्य फिल्मले भने चुनावलाई कारण देखाउँदै रिलिज स्थगित गरिरहेका छन् । मंगलबार मात्र तीन फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ले रिलिज स्थगनको घोषणा गरे । फागुन १ गते हलमा लागेका यी तीन फिल्ममध्ये ‘बिगुल’ र ‘श्री बुकुरो’ले निर्वाचन र ‘शिवांश’ले प्राइम टाइममा शो नपाएको कारण देखाउँदै रिलिज स्थगित गरेका हुन् ।
‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’को रिलिज स्थगित हुँदाको फाइदा ‘आ बाट आमा’लाई हुने देखिन्छ । हलमा धेरै फिल्म भएका कारण यो फिल्मको शो संख्या र व्यापारमा कहीँ न कहीँ असर परिरहेको थियो । अब तीन फिल्मले रिलिज स्थगित गर्दा हलमा दर्शकका लागि रोजाइ कम भएको छ । यसले ‘आ बाट आमा’को व्यापारमा फाइदा पुग्ने अनुमान गरिएको छ ।
अब फागुन १५ गतेभन्दा अघि हलमा नयाँ नेपाली फिल्म लाग्ने छैनन् । फागुन १५ गते भने फिल्म ‘प्रवासी जीवन’ प्रदर्शन हुँदैछ । तर, यो फिल्मको चर्चा शून्य प्रायः रहेकाले चुनावसम्म ‘आ बाट आमा’ले नै हलमा आफ्नो दबदबा कायम राख्ने देखिन्छ । तेस्रो सातामा पनि दैनिक ३० लाखमाथिको व्यापार गरिरहेको यो फिल्मले चुनावसम्म १२ करोड कमाउन सक्ने प्रक्षेपण गरिएको छ ।

