Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अता पता लापता’ : राजपाललाई जेल पुर्‍याएको फिल्म

एजेन्सी, काठमाडौं, 2026/02/17

rajpal yadav

 

बलिउडका चर्चित अभिनेता राजपाल यादव यतिबेला मुस्किल घडीमा छन् । चेक बाउन्सको मुद्दामा उनले तिहाड जेलमा ११ दिन बिताए । सोमबार मात्र उनलाई दिल्ली उच्च अदालतले सर्तसहित १८ मार्चसम्मका लागि अन्तरिम जमानत दिएको छ । डेढ करोड भारु धरौटी र पासपोर्ट बुझाएर उनी रिहा भइसकेका छन् । अब अर्को सुनुवाइ १८ मार्चमा हुनेछ ।

राजपालको चेक बाउन्स मुद्दा फिल्मसँग जोडिएको छ । उनले सन् २०१० मा मुरली प्रोजेक्ट्स नामक कम्पनीबाट भारु पाँच करोड ऋण लिएर फिल्म ‘अता पता लापता’ बनाएका थिए । यसको निर्देशन उनी आफैंले गरेका थिए भने मुख्य भूमिकामा पनि उनी स्वयं थिए । राजपालकी श्रीमती राधा यादवले श्री नौरंग गोदावरी इन्टरटेनमेन्टको ब्यानरमा फिल्मको निर्माण गरेकी थिइन् । 

राजपालले आफूसँग भएको पैसा समेत लगाएर ११ करोडको लागतमा उक्त फिल्म बनाएका थिए । उनलाई फिल्म सफल हुने पूर्ण विश्वास थियो । तर, फिल्मले बक्स अफिसमा निराशाजनक व्यापार गर्‍यो । यसले ५० लाख भारु पनि कमाउन सकेन । फिल्म फ्लप भएपछि राजपाल आर्थिक संकटमा फसे । उनले मुरली प्रोजेक्ट्सबाट लिएको ऋण पनि तिर्न सकेनन् ।

एकपटक राजपालले भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि उक्त कम्पनीले उनीविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको थियो । यसपछि सन् २०१८ मा दिल्लीको तल्लो अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो । पछि यो मुद्धा दिल्ली उच्च अदालत पुग्यो, जहाँ राजपालले कम्पनीको ऋण तिर्ने वाचा गरेपछि उनको सजायमा रोक लगाइएको थियो ।

तर, उनले पटक-पटकको प्रतिबद्धता उल्लंघन गरेको भन्दै फेब्रुअरी ४ मा दिल्ली उच्च अदालतले उनलाई आत्मसमर्पण गर्न आदेश दिएको थियो । र, उनले फेब्रुअरी ५ मा दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरे । उनले मुरली प्रोजेक्ट्स कम्पनीलाई सहमति बमोजिम करिब ९ करोड भारु तिर्नुपर्ने रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

राजपालले आफूसँग तत्काल ऋण तिर्ने पैसा नभएको भन्दै जेल पुगेर आत्मसमर्पण गरेपछि सलमान खान, अजय देवगन, वरुण धवन, सोनू सूद, नवाज़ुद्दीन सिद्दीकी लगायतका कलाकारहरूले उनलाई आर्थिक सहयोग गर्ने आश्वासन दिएका छन् । निर्देशक प्रियदर्शनले आगामी फिल्मबाट उनको पारिश्रमिक बढाउने घोषणा समेत गरेका छन् ।