Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पलको दोस्रो धेरै कमाउने फिल्म बन्यो ‘आ बाट आमा’

फिल्मीखबर, काठमाडौं, 2026/02/16

paul shah

 

अभिनेता पल शाहले जेल जीवनपछि करिअरमा ठूलो उतारचढाव भोग्नुपर्‍यो । २०८१ सालमा मात्र उनका दुईवटा फिल्म ‘रावायण’ र ‘मायावी’ व्यावसायिक रूपमा असफल भए । यसले गर्दा उनलाई फिल्ममा लिनै निर्माता-निर्देशकहरू हिचकिचाउन थालेका थिए । एउटा फिल्मबाट त उनलाई जानकारीबिनै हटाइएको समेत थियो । तर, यस वर्ष पलले करिअरमा सानदार ‘यूटर्न’ लिएका छन् ।

गत माघसम्म उनका दुई फिल्म ‘मोहर’ र ‘आ बाट आमा’ प्रदर्शन भइसकेका छन् । र, यी दुवै फिल्म व्यावसायिक रूपमा सफल भएका छन् । गत साउनमा प्रदर्शन भएको ‘मोहर’ले ५ करोडमाथि कमाएको थियो । उनले जेल जीवनपछि पाएको यो पहिलो हिट फिल्म थियो । त्यसअघि ‘पूजार सार्की’ सफल भए पनि यसमा उनको मुख्य भूमिका थिएन । यसैले सफलताको जस पनि पाएनन् ।

‘मोहर’ सफल हुँदा राहत महसुस गरेका पलले ‘आ बाट आमा’बाट अझ ठूलो सफलता पाएका छन् । आइतबारसम्म यो फिल्मले ९ करोडभन्दा बढी कमाइसकेको छ । योसँगै ‘आ बाट आमा’ यस वर्षको धेरै कमाइ गर्ने चौथो फिल्म र पलको दोस्रो धेरै कमाउने फिल्म बनेको छ । अझै फिल्मको व्यापारिक रफ्तार कम नभएकाले बिहीबारसम्म १० करोडको आँकडा पार हुने निश्चित देखिन्छ ।

पलको करिअरकै सर्वाधिक कमाउने फिल्ममा ‘शत्रु गते’ पर्छ, जुन २०७४ सालमा प्रदर्शन भएको थियो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यसले १२ करोड ६५ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो । अब यो आँकडालाई ‘आ बाट आमा’ले उछिन्न सक्छ कि सक्दैन भन्ने चासो धेरैमा देखिएको छ । यो फिल्मको व्यापारिक गति हेर्दा ‘शत्रु गते’को रेकर्ड तोडिने प्रवल सम्भावना देखिन्छ ।