Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’को व्यापार ८ करोड नाघ्दा ‘कुमारी’को कति ?

फिल्मीखबर, काठमाडौं, 2026/02/16

aa bata aama

 

चलचित्र विकास बोर्डले माघ महिनाका तीन फिल्म ‘आ बाट आमा’, ‘कुमारी’ र ‘रमिताको पिरती’को आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक गरेको छ । यी तीन फिल्ममध्ये ‘आ बाट आमा’ कमाइमा ठूलो अंकले अगाडि देखिएको छ । यसले फागुन २ गते शनिबारसम्म ३ लाख १० हजार ३२३ वटा टिकट बिक्रीबापत ८ करोड ३१ लाख ८७ हजार ७८९ रुपैयाँ ग्रस कमाएको छ । 

‘आ बाट आमा’ले १६ दिनमा ८ करोडको आँकडा नघाउँदा ‘कुमारी’ र ‘रमिताको पिरती’ले एक करोड पनि कमाउन सकेका छैनन् । ‘कुमारी’ले प्रदर्शनको ९ दिनमा ५६ लाख २११ रुपैयाँ ग्रस व्यापार गरेको छ । यसको १७ हजार २९ वटा टिकट बिक्री भएका छन् । ‘रमिताको पिरती’को भने १९ लाख ४३ हजार ५८८ रुपैयाँ मात्र ग्रस व्यापार भएको छ ।

‘आ बाट आमा’ यस वर्षको सफल फिल्मको सूचीमा परिसकेको छ । प्रचारसहित झन्डै २ करोडमा बनेको यो फिल्मलाई लगानी उठाउन साढे ६ करोडको व्यापार आवश्यक थियो । दोस्रो विकेन्डमै फिल्मले उक्त आँकडा पार गरेको थियो । आइतबारसम्म फिल्मले बक्स अफिसमा ९ करोडभन्दा बढीको कमाइ गरिसकेको छ । यसअर्थ फिल्म अब सुपरहिट बनेको छ ।

यो फिल्मको तेस्रो सातामा पनि व्यापारिक रफ्तार कम भएको छैन । आइतबार (हिजो) मात्र फिल्मले ६४ लाख ४५ हजार रुपैयाँ ग्रस कमाएको छ भने शनिबारको व्यापार एक करोड हाराहारी थियो । सोमबार (आज) पनि फिल्मको देशव्यापी अकुपेन्सी ५० प्रतिशतभन्दा माथि रहेकाले फिल्मले मंगलबारसम्म १० करोडको आँकडा पार गर्न सक्ने देखिन्छ ।