छायांकनको तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत ‘अरे ओ नेता जी’ सार्वजनिक गरिएको छ । समसामयिक राजनीति र झुटा आश्वासन बाँड्ने नेताप्रति व्यङ्ग्य गरिएको यस गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वर रहेको छ भने अङ्कित स्वयंको संगीत तथा युवराज काफ्लेको शब्द रचना छ ।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता विजय बराल देखिएका छन् । आम नागरिकले विकास निर्माणबारे प्रश्न गर्दा नेताले दिने टालटुले जवाफ र ‘यही हो विकास’ भन्दै देखाउने प्रवृत्तिलाई गीतमा व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको छ । निर्माण पक्षले प्रतिनिधि सभा निर्वाचनको संघारमा यो गीत दर्शकमाझ ल्याउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आकाश बराल र साजन काफ्लेको लेखन, निर्माण तथा निर्देशनमा बन्ने यस फिल्मको कथा राजन भुसालले लेखेका हुन् । फिल्ममा राजनको अभिनय पनि रहनेछ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कार्यकारी निर्मातामा मोती कार्की रहेका छन् । निशाल पौडेलको छायांकन रहने फिल्मको सम्पादन चानस मगरले गर्नेछन् ।
सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआइपुग्दासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने परिस्थितिलाई फिल्ममा देखाइने जनाइएको छ । निर्देशक द्वय बराल र काफ्लेका अनुसार फिल्ममा एउटा फ्रिज गाउँसम्म पुर्याउने प्रसंग मात्र नभइ लाइट कमेडी कथा पनि रहेको छ ।

