तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’ आउँदो नयाँ वर्षको दिन प्रदर्शन हुने भएको छ । सोमबार निर्माण पक्षले बैशाख १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो । यसअघि फिल्मलाई कात्तिक ७ गते (भाइटीकाको भोलिपल्ट) प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, तिहारमा धेरै फिल्म आउने भएपछि निर्माताले प्रदर्शन स्थगित गरेका थिए ।
भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, स्व. सुनिल थापा, विपिन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गराएका छन् । यसमा पञ्चमीको जोडी अरुणसँग बाँधिएको छ ।
ओजस्वी केसीको निर्माणमा तयार भएको यस फिल्मलाई प्रमोद प्रधानले छायांकन गरेका हुन् । भारतमा थुप्रै फिल्म, वेब सिरिज र टेलिफिल्म छायांकन गरिसकेका प्रधानले निर्देशक घिमिरेसँग यसअघि ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’मा सहकार्य गरेका थिए । ‘पहाड’मार्फत उनको नेपाली फिल्मको छायांकनमा तीन दशकपछिको पुनरागमन हो ।
निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई फिल्ममा चित्रण गरिएको बताएका छन् । उनी भन्छन्, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा यसमा समेटिएको छ । फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्म हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनुहुन्छ ।’

