Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2026/02/15

rekha thapa

 

अभिनेत्री रेखा थापा करिब ८ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएकी छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’को आइतबार महाशिवरात्रीको अवसर पारेर काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । यो रेखाको तेस्रो निर्देशकीय फिल्म हुनेछ । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन् । 

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने यस फिल्ममा नयाँ र पुराना पुस्ताका कलाकारहरूलाई समेटिएको छ । मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेल लगायतका कलाकारहरूले फिल्ममा अभिनय गर्नेछन् ।  

फिल्मको निर्माण घोषणासँगै दुईवटा पोस्टर पनि सार्वजनिक गरिएको छ । एउटामा त्रिकोणात्मक प्रेम झल्काइएको छ भने अर्कोमा बाबु-छोराको आत्मीयता दर्शाउन खोजिएको छ । यसले प्रेम सम्बन्धमा आउने उतारचढाव र सन्तानको कर्तव्यलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको संकेत गर्छ । यद्यपि, निर्माण पक्षले यसबारे कुनै जानकारी गराएको छैन । 

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा सुदीप बराल छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । ध्रुव लम्सालको लेखन रहेको फिल्ममा रंग पत्रकार राजन घिमिरे को-अर्डिनेटरको रूपमा छन् । आगामी तीजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको यो फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरू गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।