
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’ आगामी बैशाख २५ गते (८ मे)देखि प्रदर्शनमा आउने भएको छ । शनिबार निर्माण पक्षले भ्यालेनटाइन डे (प्रणय दिवस)को अवसरमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । उक्त मितिमा अहिलेसम्म अरू फिल्म छैनन् ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी विजय बराल र वर्षा राउत प्रेमिल मुद्रामा देखिएका छन् । विजयले वर्षाको काखमा आफ्नो टाउको राखेका छन् भने फरिया र चोलोमा सजिएकी वर्षा विजयको कुममा टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन् । फिल्ममा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा छन् । पोस्टरले ग्रामीण प्रेमकथामा फिल्म आधारित रहेको संकेत दिन्छ ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा निर्देशक पाण्डेय स्वयंको कथा छ भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
रानी फिल्म्स र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् । बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह-निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन छ ।

