
अभिनेता शाहिद कपूर र अभिनेत्री तृप्ति डिमरीको मुख्य भूमिका रहेको फिल्म ‘ओ रोमियो’ भ्यालेनटाइन डेको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । ट्रेलर र गीतबाट यो फिल्मको ठूलो हाइप बनेको थियो । तर, फिल्मको एड्भान्स टिकट बुकिङ अपेक्षित हुन सकेन । यसले गर्दा फिल्मको ओपनिङ बढीमा ५-६ करोड हुनसक्ने अनुमान गरिएको थियो ।
तर, शनिबार सार्वजनिक भएको फिल्मको पहिलो दिनको कमाइ पूर्वानुमानभन्दा विपरित आएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले एक्स (ट्विटर)मा फिल्मले पहिलो दिन भारू ९ करोड १ लाख नेट कमाएको उल्लेख गरेका छन् । उनका अनुसार दिउँसो र साँझका शोमा फिल्मले शहरी क्षेत्रमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका कारण ओपनिङ उत्साहजनक भएको हो ।
फिल्म समीक्षक समेत रहेका तरणले एक्समा लेखेका छन्, ‘फिल्मलाई उत्कृष्ट विकेन्ड नतिजा निकाल्न शनिबार र आइतबार राम्रो कमाइ गर्नुपर्छ । भ्यालेनटाइन डेका कारण शनिबार दर्शकको संख्या बढ्ने अपेक्षा गरिएको छ । तर, आइतबार साँझ हुन लागेको भारत र पाकिस्तानको ‘हाई भोल्टेज’ क्रिकेट खेलले फिल्मको कमाइमा असर गर्न सक्ने देखिन्छ ।’
‘ओ रोमियो’ले ९ करोडको ओपनिङ गर्दा शाहिदलाई ठूलो राहत मिलेको छ । उनले ‘कबीर सिंह’पछि पाएको यो सबैभन्दा ठूलो ओपनिङ हो । यसअघि सन् २०२४ मा उनी अभिनीत फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ले ७ करोडको ओपनिङ गरेको भए पनि अब यसलाई ‘ओ रोमियो’ले उछिनेको छ । उनलाई यो फिल्म व्यावसायिक रूपमा सफल हुनैपर्ने दबाब छ ।

