.jpg)
अभिनेता नीर शाह एक दशकपछि फिल्म निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्न लागेको ८ औं फिल्म ‘कमला मिस’को शुक्रबार बिहान ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलमा शुभ मुहूर्त गर्दै त्यहीँबाट छायांकन सुरू गरिएको छ । पछिल्लो पटक शाहले सन् २०१५ मा फिल्म ‘सेतो बाघ’ निर्देशन गरेका थिए ।
स्वर्गीय साहित्यकार विजय मल्लद्वारा लिखित चर्चित नाट्य कृति ‘कोही किन बर्बाद होस्’को कथाबाट प्रेरित यस फिल्ममा निर्देशक शाहसहित बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी लगायतका कलाकारहरूको अभिनय रहनेछ । बाल मनोविज्ञानजस्तो संवेदनशील विषयलाई फिल्मले उजागर गर्ने जनाइएको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा बन्ने फिल्मको कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् । फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
सन् १९६९ मा प्रकाशित ‘कोही किन बर्बाद होस्’ कृतिमाथि कुञ्ज थिएटर, सेन्ट जेभियर्स कलेज, बुढानिलकण्ठ स्कुल लगायतले नाटक मञ्चन गरिसकेका छन् । कुञ्जले मञ्चन गरेको नाटकमा चर्चित रंगकर्मी सुनिल पोखरेलले समेत अभिनय गरेका थिए । प्रेम र मातृत्वले बालबालिकामा पार्ने प्रभाव र अभिभावकको दायित्वको कथा यसमा समेटिएको छ ।

