Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’को दबदबाबीच तीन फिल्म हलमा

फिल्मीखबर, काठमाडौं, 2026/02/13

three movie

 

दुई सातादेखि घरेलु बक्स अफिसमा फिल्म ‘आ बाट आमा’को एकछत्र दबदबा देखिएको छ । दुई सातामा साढे ६ करोडमाथिको व्यापार गरिसकेको यो फिल्मले हलमा आफ्नो पकड अझै कमजोर हुन दिएको छैन । यस्तो अवस्थामा शुक्रबारबाट तीन फिल्म व्यावसायिक प्रतिस्पर्धामा उत्रिएका छन् । ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।

फरक–फरक कथावस्तुमा निर्माण भएका तीनवटै फिल्मले न्यून शो पाएका छन् । तीन फिल्मको शो संख्या देशव्यापी एक सय पनि छैन । न त टिकट बुकिङ अपेक्षित देखिएको छ । यस्तो परिस्थितिमा तीनवटै फिल्मलाई व्यापारिक गति समात्न र ‘आ बाट आमा’को चुनौती चिर्न बलियो ‘वर्ड अफ माउथ’ (दर्शकीय प्रतिक्रिया) आवश्यक देखिन्छ । 

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको ‘श्री बुकुरो’मा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, मोहन निरौला, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, लय संग्रौला लगायतको अभिनय रहेको छ । रुबी सेन सिंह निर्माता रहेको फिल्मले पुरानो थातथलोलाई बचाइराख्नुपर्छ भन्ने सन्देश दिँदै पारिवारिक सम्बन्धको कथा पेश गरेको छ । 

‘बिगुल’ भने राजनीतिक विषयवस्तुमा आधारित छ । रमेश कोइरालाको निर्देशन रहेको यस फिल्ममा नीर शाह, रमेश बुढाथोकी, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय देख्न सकिन्छ । दिनेश कोइराला निर्माता र कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।

त्यस्तै, ‘शिवांश’मा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विमला लिम्बू, विकाश जोशी, प्रदीप कुमार चौधरी, टीका निरौला लगायतका कलाकारहरूले अभिनय गरेका छन् । सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको यस फिल्मका निर्माता अञ्जान केसी हुन् । भारतीय गायक कैलाश खेरले फिल्ममा ‘शिव ताण्डव’ गीत गाएका छन् ।