
यही शुक्रबार (१ फागुन)बाट प्रदर्शन हुन लागेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ले प्रिमियरमा प्रशंसा पाएको छ । बुधबार साँझ काठमाडौंको एक हलमा आयोजित प्रिमियरमा फिल्मको कथ्य शैली, संवाद, कलाकारको अभिनय र छायांकन पक्ष निकै रूचाइयो । कतिले काव्यात्मक फिल्म भन्दै प्रशंसा गरे भने कतिले सुन्दर पेन्टिङको संज्ञा दिए ।
निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा एउटा पेन्टिङ जस्तो रहेको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्ममा पैतृक घरलाई बुकुरो शब्दमार्फत एकदमै राम्रोसँग अर्थ्याइएको छ । फिल्म हेरिरहँदा यसले मलाई आफ्नै पुरानो जन्मघर पुर्यायो । लक्ष्मी गिरीले निभाउनुभएको पात्रमा मैले आफ्नी आमालाई सम्झिएँ । फिल्मको कथावाचन शैली साह्रै सुन्दर छ ।’
निर्देशक घिमिरेले फिल्ममा मानवीय समवेदनाका स-साना पक्षहरूलाई अर्थपूर्ण र कलात्मक रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै सानोमा अत्यन्तै मिल्ने फुपु र भदैको बुढेसकालमा भेट हुने प्रसंगले दर्शकको मनछुने र यथार्थपरक अनुभव गराउने बताए । फिल्मले सम्बन्धको महत्त्वलाई उजागर गरेको बताउँदै उनले कलाकारहरूको अभिनयको पनि मुक्तकण्ठले प्रशंसा गरे ।
निर्माता तथा वितरक छविराज ओझाले पनि फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिए । निर्देशक सुव्रतराज आचार्यले ‘श्री बुकुरो’ मनमा गढ्ने फिल्म बनेको बताए । लेखक शान बस्न्यातले फिल्मको दृष्यभाषा बलियो रहेको भन्दै प्रशंसा गरे । अभिनेता जयकिशन बस्नेतले फिल्म हेर्दा कुनै उपन्यास पढेको जस्तो भान भएको अनुभव सुनाए ।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, लय संग्रौला, मोहन निरौला, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान लगायतको अभिनय रहेको छ । रुबी सेन सिंह निर्माता रहेको फिल्मले पुरानो थाकथलोलाई बचाइराख्नुपर्छ भन्ने सन्देश दिँदै पारिवारिक सम्बन्धको कथा पेश गरेको छ ।

