Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘श्री बुकुरो’मा साहित्य र दर्शन छ : लक्ष्मी गिरी

फिल्मीखबर, काठमाडौं, 2026/02/11

laxmi giri

 

अभिनेत्री लक्ष्मी गिरीले नेपाली फिल्म क्षेत्रमा चार दशक बिताइसकेकी छन् । यो अवधिमा एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनले प्रायः छुच्ची सासुको भूमिका निभाएकी छन् । यसैले उनको परिचय नै ‘छुच्ची बुढी’को रूपमा बनेको छ । तर, अब उनी यो छवि बदल्न चाहन्छिन् । आगामी फिल्म ‘श्री बुकुरो’मार्फत उनले आफ्नो पुरानो परिचय तोड्ने अपेक्षा राखेकी छन् ।

यो फिल्ममा अभिनयको प्रस्ताव आउँदा उनलाई निर्देशक सुदीप भुपाल सिंहले सुरूमै छुच्ची देखिन पाइँदैन भनेका रहेछन् । निर्देशकसँगको पहिलो भेटको अनुभव सुनाउँदै एक साक्षात्कारमा लक्ष्मीले भनिन्, ‘उहाँले मलाई फिल्ममा ‘हा-हुँ’ गर्न चाहिँ पाउनु हुन्न है भन्नुभएको थियो । तर, मैले मायालाग्दो भूमिका गरेका ‘मुगलान’, ‘झोला’ जस्ता फिल्म उहाँले हेर्नुभएकै रहेनछ ।’ 

‘श्री बुकुरो’मा पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेकी उनी यसपटक आफूलाई अलि भारी बोकेको महसुस भइरहेको बताउँछिन् । सुरूमा फिल्मबाट अफर आउँदा उनी दोधारमा समेत परेकी थिइन् । तर, उनले हिम्मत जुटाएर मुख्य भूमिकामा काम गरिन् । निर्देशकले मायालाग्दो देखिनुपर्छ भनेपछि आफूले त्यही अनुसार काम गरेको उनको भनाइ छ । 

फिल्मको आमा पात्रमा उनले आफ्नो अनुभव पनि मिसाएकी छन् । ‘कुनै बेला म छोरी थिएँ । त्यसपछि बुहारी, आमा र सासु भएँ । हाम्रो अहिले पनि संयुक्त परिवार छ । फिल्ममा पनि संयुक्त परिवार नै छ । परिवारलाई कसरी मिलाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो अनुभवलाई फिल्मलाई मिसाएको छु,’ गिरीले भनिन् । फिल्ममा बढी मात्रामा साहित्य र दर्शन रहेको पनि उनले स्पष्ट पारिन् । 

उनलाई फिल्मको रिलिज नजिकिँदै गर्दा कुनै परीक्षा दिएको जस्तो अनुभव भइरहेको छ । यसको मुख्य कारण हो, पहिलो पटक मुख्य भूमिकामा देखिनु । अहिले आफूलाई एलएसली परीक्षा दिँदाको याद आइरहेको उनी बताउँछिन् । भन्छिन्, ‘अहिले मलाई कुनै परीक्षा दिएको जस्तो भइरहेको छ । एसएलसी दिँदाको झलझली याद आइरहेको छ । मुटु ढुकढुक भइरहेको छ ।’ 

यही शुक्रबार (१ फागुन)बाट प्रदर्शन हुन लागेको ‘श्री बुकुरो’मा लक्ष्मीसहित आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।