Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिगुल’को प्रिमियरमा मदनकृष्णले भने- ‘जेनजी आन्दोलनलाई टेवा दिने फिल्म’

फिल्मीखबर, काठमाडौं, 2026/02/11

bigul movie

 

यही शुक्रबार (१ फागुन)बाट प्रदर्शन हुन लागेको फिल्म ‘बिगुल’ले प्रिमियरमा प्रशंसा बटुलेको छ । मंगलबार ललितपुरको एक हलमा आयोजित प्रिमियरमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठदेखि ललितपुरका मेयर चिरिबाबु महर्जनसम्मले फिल्मको कथावस्तुको प्रशंसा गरे । फिल्मले जेनजी आन्दोलनलाई टेवा दिने उनीहरूको धारणा थियो ।

फिल्म हेरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा कलाकार श्रेष्ठले ‘बिगुल’लाई जोशिलो र होसिलो फिल्मको संज्ञा दिए । उनले भने, ‘फिल्मले वर्तमान अवस्थाको चित्रण गरेको छ । जेनजी आन्दोलनलाई यो फिल्मले धेरै टेवा दिन्छ । अहिले जताततै चुनावी माहोल देखिएको जस्तै फिल्ममा पनि त्यही गतिविधि छ । समसामयिक विषय समेटिएकाले फिल्म हेर्दा मज्जा आउँछ ।’

निर्देशक सवीर श्रेष्ठले फिल्मले उठाएको विषयवस्तु एकदमै राम्रो लागेको बताए । ‘यो फिल्म हेरेपछि जनतामा राजनीतिक चेतना आउँछ भन्ने लाग्छ । राजनीति गर्नेलाई पनि फिल्मले सचेत र जिम्मेवारी बोध गराउँछ,’ उनले भने, ‘कलाकारहरूको अभिनयको कुरा गर्दा नरेन खड्का, बेनिशा हमालको काम एकदमै राम्रो छ  । लेखन, छायांकन र निर्देशन पक्ष पनि राम्रो लाग्यो ।’ 

अभिनेता पुष्प खड्काले ‘बिगुल’ हेर्दा देशको परिस्थितिलाई नै पर्दामा हेरिरहेको अनुभव भएको बताए । ‘हरेक नागरिकलाई राजनीतिक चेतना हुन जरूरी छ । र, राजनीतिमा लाग्ने व्यक्तिले के गर्नुपर्छ र के गर्नुहुन्न भन्ने सन्देश फिल्मले सशक्त रूपमा दिएको छ । राजनीति बुझ्न चाहनेका लागि यो फिल्म एउटा बलियो दस्तावेज हुनेछ,’ उनले भने । 

प्रिमियरमा फिल्मको प्रशंसा हुँदा प्रफुलित देखिएकी अभिनेत्री बेनिशा हमालले ‘बिगुल’मा काम गर्नु आफ्नो लागि नयाँ अनुभव भएको बताइन् । उनले भनिन्, ‘मैले राजनीतिक विषयवस्तुमा पहिलो पटक काम गरेको हुँ । त्यसमाथि देशको समसामयिक राजनीतिक परिस्थितिसँग कथा मिल्दोजुल्दो छ । यस्तो फिल्मको हिस्सा हुन पाउँदा म एकदमै खुसी छु ।’

रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशासहित नीर शाह, रमेश बुढाथोकी, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय रहेको छ । कांग्रेस नेता दिनेश कोइराला निर्माता रहेको यस फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन छ ।