.jpeg)
अभिनेता अर्पण थापाको निर्देशनमा बनिरहेको नयाँ फिल्म ‘फ्रेन्च किस’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । केही दिनदेखि चितवन जिल्लाका विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्ममा अभिनेत्री रेखा थापाको पनि प्रवेश भएको छ । यसै साता आफ्नो भागको छायांकन सकाएर उनी काठमाडौं फर्किसकेकी छन् ।
कार्यकारी निर्माता सौगात बस्नेतले रेखाको प्रवेशसँगै फिल्म थप सशक्त, आकर्षक र प्रतिक्षीत बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘आफ्नो दमदार अभिनय, प्रभावशाली उपस्थिति र लोकप्रियताका कारण परिचित रेखा थापाको प्रवेशसँगै हाम्रो फिल्म थप सशक्त बनेको छ । ‘फ्रेन्च किस’मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ ।’
ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा रेखासँगै निर्देशक थापाको पनि अभिनय देख्न सकिनेछ । मुख्य अभिनेत्रीमा थिन्ले ल्हामो छिन्, जो यसअघि विश्व प्रसिद्ध फिल्म ‘शाम्बाला’मा देखिएकी थिइन् । फिल्ममा उनको जोडी अर्पणसँग बाँधिएको छ । गौरी मल्ल र आयशा तामाङको पनि फिल्ममा अभिनय रहनेछ ।
युवापुस्ताको प्रेमकथामा आधारित यस फिल्मको सह-निर्मातामा सुभाष बी. शाही रहेका छन् । चर्चित गीत ‘मन मगन’का गायक दीपक बज्राचार्यको संगीत रहने फिल्ममा सुदीप बराल छायाँकारमा छन् । रोयल भिमसेनको ‘ट्राइडेन्ट कन्सेप्ट’ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको फिल्मलाई सन् २०२६ मा प्रदर्शन गर्ने निर्माताको योजना छ ।

