Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख १८ मा आउँदै ‘लालीबजार’, यौनकर्मीको भूमिकामा स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2026/02/11

Swastima Khadka

 

‘जात्रा’ समूहको आगामी फिल्म ‘लालीबजार’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माताले बुधबार टिजर सार्वजनिक गर्दै फिल्मलाई बैशाख १८ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेका हुन् । फिल्मको निर्माण घोषणा हुँदा फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । तर, फागुन २१ गते हुने चुनावका कारण निर्माताले फिल्मको रिलिज पछाडि सारेका हुन् ।

फिल्मको टिजरले कथावस्तु र पात्रहरूको चरित्र चित्रणबारे जानकारी दिएको छ । बाध्यताले यौनकर्ममा लागेकी युवतीको राज परिवारको सदस्यसँगको सम्बन्ध र नत्थी प्रथालाई टिजरको केन्द्रमा राखिएको छ । फिल्मको कथा बादी समुदायका महिलाको जीवन संघर्षमा आधारित रहेको देखिन्छ, जो गरिबी र सामाजिक बहिष्कारका कारण यौन व्यवसायमा संलग्न हुन बाध्य छन् । 

यम थापाको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशन प्रजापतीको छायांकन, निर्देशक थापा र प्रदीप भट्टराईको पटकथा तथा संवाद, मित्रदेव गुरुङको सम्पादन तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ । फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्मातामा छन् ।