
अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटी पहिलो पटक एकसाथ फिल्ममा देखिने भएका छन् । ऋत बोहोराको निर्देशनमा बन्न लागेको फिल्म ‘कस्तुरी’मा उनीहरू मुख्य जोडीका रूपमा प्रस्तुत हुन लागेका हुन् । मंगलबार ललितपुरको बंगलामुखी मन्दिरमा मुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमा हुनेछ ।
कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीजमार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै आएका धीरज अग्रवालले निर्माण गर्ने यस फिल्ममा निखिल र वर्षासहित शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सवी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा लगायतको अभिनय रहनेछ ।
निर्देशक बोहोराका अनुसार फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिनेछ । फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने उनको भनाइ छ । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसअघि उनले थुप्रै फिल्ममा चिफ असिस्टेन्ट डिरेक्टरको रूपमा काम गरिसकेका छन् ।
टेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अञ्जली चौधरी सह-निर्मातामा छिन् । फिल्ममा आलोक शुक्लाको छायांकन रहनेछ भने ब्रजेश खनालको लेखन तथा प्रशान्त सिवाकोटीको संगीत छ । ‘ट्राइडेन्ट कन्सेप्ट’का रोयल भिमसेनले फिल्मको पब्लिसिटी डिजाइनको जिम्मा लिएका छन् । फिल्मलाई आगामी वर्षको सुरूवातमा प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष छ ।

