
प्रणय दिवसलाई लक्षित गरेर गत शुक्रबार (२३ माघ)बाट प्रदर्शनमा आएको लभस्टोरी फिल्म ‘कुमारी’ले व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । अपेक्षा अनुसार फिल्मको व्यापार नदेखिए पनि दर्शकीय प्रतिक्रिया उत्साहजनक देखिन्छ । विशेषगरी युवापुस्ताले फिल्म मन पराएका छन् । कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको प्रशंसा भएको छ ।
‘कुमारी’ हेरेका प्रायः दर्शकले युवापुस्तालाई फिल्म हेर्न आग्रह गरेका छन् । शनिबार फिल्म हेरेपछि एक युवतीले आफ्नो धारणा राख्दै भनेकी थिइन्, ‘जब केटीले आफ्नो लागि अडान लिन थाल्छ, त्यो फिल्मको सबैभन्दा उत्कृष्ट पाटो हो । म युवापुस्तालाई फिल्म हेर्न आग्रह गर्छु । फिल्ममा प्रेमकथासँगै समाजको ‘डार्क साइड’लाई पनि देखाइएको छ । फिल्म एकदमै राम्रो छ ।’
फिल्मले पीडामा रहेका महिलालाई सम्मान गर्नुपर्छ भन्ने सन्देश पनि दिएको दर्शकहरूको प्रतिक्रिया छ । फिल्मबारे एक महिला दर्शकले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेकी छन्, ‘यस्तो विषयमा बनेका फिल्मले समाजलाई अझ शिक्षित बनाउँछ । मलाई फिल्मको कथावस्तुदेखि कलाकारहरूको काम एकदमै राम्रो लाग्यो । यो सबैले हेर्नुपर्ने फिल्म हो ।’
‘कुमारी’को प्रशंसा कन्टेन्ट क्रिएटरहरूले पनि गरेका छन् । एक महिला कन्टेन्ट क्रिएटरले ‘डोको बुन्ने’ गीत सुनेको भरमा फिल्म हेर्न जाँदा आफू सरप्राइज भएको बताएकी छन् । हिरोको लुक्सले ‘सैयारा’को आभास दिलाएको बताउँदै उनले फिल्म हेर्दा आफूलाई धेरैपटक ‘गुजबम्प्स’ भएको उल्लेख गरेकी छन् । उनले महिलाहरूलाई एकपटक फिल्म हेर्न अनुरोध पनि गरेकी छन् ।
दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माणमा बनेको यस फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । फिल्म हेर्ने प्रायःले दुवैको अभिनय मन पराएका छन् । अझ अभिषेकको लुक्सको पनि प्रशंसा भइरहेको छ । फिल्ममा काकाको भूमिकामा अभिनय गरेका कलाकार मधु खड्का पनि दर्शकको नजरमा परेका छन् ।

