Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’ले उकास्यो बक्स अफिस, कमाइ ५ करोड नाघ्यो

फिल्मीखबर, काठमाडौं, 2026/02/09

Bipana Thapa, Pradeep Rawat, Paul Shah

 

गत मंसिरदेखि नेपाली बक्स अफिस मौसमजस्तै चिसिएको थियो । यो बीचमा एक दर्जनभन्दा बढी फिल्म प्रदर्शनमा आए पनि कुनैले डेढ करोडमाथि कमाउन सकेका थिएनन् । यसले गर्दा फिल्म क्षेत्रमा निराशा छाएको थियो । अघिल्लो साता प्रदर्शनमा आएको पल शाह अभिनीत फिल्म ‘आ बाट आमा’ले भने आशाको किरण छरेको छ । 

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकमा फिल्मको ९ दिन (२४ माघ)सम्मको व्यापार ४ करोड ८० लाख ९० हजार ४८७ रुपैयाँ ग्रस देखिएको छ । आइतबारसम्म फिल्मले ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइसकेको छ । गत शनिबार मात्र फिल्मले १ करोडमाथिको व्यापार गरेको थियो । यसरी हेर्दा बक्स अफिसमा फिल्म आक्रामक देखिएको छ । 

प्रचारसहित २ करोडको लागतमा बनेको ‘आ बाट आमा’ले लगानी उठाएर नाफा कमाउन अझै १ करोड ग्रस (साढे ६ करोड) व्यापार गर्नुपर्छ । त्यो हुँदा मात्र फिल्म ‘हिट’ कहलिनेछ । फिल्मको व्यापारिक रफ्तार हेर्दा उक्त आँकडा टाढा देखिँदैन । दोस्रो सातामा पनि फिल्मको व्यापार सुखद रहेकाले यसले १० करोडमाथि कमाउन सक्ने प्रक्षेपण गरिएको छ ।

‘आ बाट आमा’ले उत्साहजनक व्यापार गर्दा पलको स्टारडम फेरि एकपटक उत्कर्षमा पुगेको छ । यस वर्ष ५ करोड कमाउने यो उनको दोस्रो फिल्म हो । यसअघि गत साउनमा प्रदर्शन भएको फिल्म ‘मोहर’ले पनि ५ करोडमाथिको व्यापार गरेको थियो । यो हिसाबले पलका लागि २०८२ साल फलदायी सावित भएको देखिन्छ । अब फिल्ममा उनको माग र पारिश्रमिक बढ्ने निश्चित छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पलसहित विपना थापा, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम लगायतको अभिनय रहेको छ । आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन् ।