Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार सुनिल थापाको अन्त्येष्टि, छोराले दिए दागबत्ती

फिल्मीखबर, काठमाडौं, 2026/02/08

sunil thapa (2)

 

शनिबार हृदयघातका कारण निधन भएका कलाकार सुनिल थापाको अन्त्येष्टि गरिएको छ । आइतबार अपरान्ह ४ बजे पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार उनको दाहसंस्कार गरिएको हो । उनलाई छोरा अनमोलले दागबत्ती दिएका थिए । अन्त्येष्टिअघि थापाको पार्थिव शरीरमा पर्यटनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे । 

आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरेपछि थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको थियो । त्यहाँ कलाकारदेखि राजनीतिज्ञसम्मले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । बोर्डबाट करिब २ बजे थापाको पार्थिव शरीरलाई फूलले सिंगारिएको गाडीमार्फत पशुपति आर्यघाट पुर्‍याइएको थियो ।

शनिबार बिहान शंखमुलस्थित आफ्नो अपार्टमेन्टमा बेहोस भएपछि कलाकार थापालाई उनका सहयोगीले थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याएका थिए । र, त्यहीँ उनले अन्तिम सास लिए । ६८ वर्षको उमेरमा निधन भएका उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । मुम्बईमा बस्ने गरेका उनीहरू शनिबार साँझ मात्र काठमाडौं आइपुगेका थिए । 

‘राते काइँला’को रूपमा परिचित कलाकार थापाले आफ्नो करिअरमा डेढ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । हिन्दी फिल्म ‘साहेब बहादुर’बाट अभिनय करिअर सुरु गरेका उनको पहिलो नेपाली फिल्म ‘मसाल’ हो । तुलसी घिमिरे निर्देशित फिल्म ‘चिनो’बाट दर्शकमाझ चिनिएका उनी पछिल्लो पटक गत पुष १७ गते प्रदर्शन भएको फिल्म ‘एक्लो’मा देखिएका थिए ।

थापाप्रति नेपालीसँगै भारतीय कलाकारहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । हिन्दी फिल्म ‘मेरी कोम’मा थापासँग काम गरेकी अभिनेत्री प्रियंका चोपडाले शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिँदै आफूलाई एकदमै कठिन समयमा सम्हालेकोमा धन्यवाद दिएकी थिइन् । भारतीय अभिनेता मनोज बाजपेयीले पनि थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

 

तस्बिर : गोपिकृष्ण चापागाईं