Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बालेनलाई सघाउन निश्चलले ‘दिमाग खराब’ युट्युबमा हालेका हुन् ?

फिल्मीखबर, काठमाडौं, 2026/02/08

DIMAAG KHARAAB

 

२०८० सालको सुपरहिट फिल्ममध्ये एक हो, ‘दिमाग खराब’ । झन्डै ९ करोड रुपैयाँ ग्रस व्यापार गरेको यो फिल्मको विषयवस्तुलाई लिएर त्यसबेला ठूलो चर्चा र बहस भएको थियो । कतिपयले रास्वपा र बालेन शाहका लागि निर्देशक निश्चल बस्नेतले फिल्म बनाएको आरोप समेत लगाएका थिए । किनकि, फिल्मले वैकल्पिक राजनीति र स्वतन्त्र उम्मेदवारको पक्षमा वकालत गरेको छ । 

सोही फिल्म गत शुक्रबार युट्युबमा सार्वजनिक भएको छ । देश चुनावमा होमिएको समयमा ‘दिमाग खराब’ युट्युबमा रिलिज हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । फिल्मले उठाएको विषयवस्तु अहिलेको राजनीतिक परिस्थितिसँग मिल्दोजुल्दो भएकाले आम मानिसलाई सचेत गराउन निश्चलले चुनावको संघारमा फिल्म युट्युबमा रिलिज गरेको धेरैको ठम्याइ छ । 

तीन दिनमा १४ लाखभन्दा बढीले हेरिसकेको यो फिल्मलाई अधिकांश दर्शकले नेता बालेन शाह र रास्वपासँग जोडेर प्रतिक्रिया जनाएका छन् । कतिले बालेनको आत्मबल बढाउने फिल्म भनेका छन् भने कतिले घन्टीको विज्ञापनको रूपमा टिप्पणी गरेका छन् । सही समयमा फिल्म युट्युबमा रिलिज गरेकोमा धेरैले निश्चललाई धन्यवाद पनि दिएका छन् ।

निश्चल रास्वपाका वरिष्ठ नेता बालेन निकट मानिन्छन् । बालेनलाई काठमाडौंको मेयरमा जिताउन लागिपर्नेमा निश्चल पनि एक थिए । आगामी निर्वाचनमा पनि उनले बालेनलाई नै समर्थन गरेका छन् । यही मेसोमा वैकल्पिक राजनीतिको वकालत गर्ने आफ्नो फिल्म ‘दिमाग खराब’ युट्युबमा रिलिज गरेर उनले बालेन र रास्वपाको पक्षमा माहोल बनाउन खोजेको टिप्पणी भइरहेको छ ।

रौनक विक्रम कडेल निर्माता तथा सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको यस फिल्ममा निश्चलसहित दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, रमा थपलिया लगायतको अभिनय देख्न सकिन्छ । निश्चलले २०८३ सालमा यो फिल्मको सिक्वेल बनाउने घोषणा गरिसकेका छन् ।