Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रद्धाञ्जलीका लागि बोर्डमा राखियो सुनिल थापाको पार्थिव शरीर

फिल्मीखबर, काठमाडौं, 2026/02/08

sunil thapa

 

दिवंगत कलाकार सुनिल थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ । आइतबार बिहान नर्भिक अस्पतालमा उनको परिवारले शव बुझेपछि अन्तिम श्रद्धाञ्जलीका लागि थापाको पार्थिव शरीर बोर्डमा राखिएको हो । चलचित्र कलाकार संघका अनुसार दिउँसो साढे १ बजेसम्म बोर्डमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न सकिनेछ ।

थापालाई श्रद्धाञ्जली दिन फिल्मकर्मीसँगै विभिन्न क्षेत्रका व्यक्तिहरू बोर्ड पुगेका छन् । थापाको पार्थिव शरीरमा फूल चढाउँदा उनकी श्रीमती, छोरा र छोरी भावविह्वल भएका थिए । तुलसी घिमिरे, भुवन चन्द, हरिवंश आचार्य, गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती, निरुता सिंह, रेखा थापा, दिनेश डिसी, विल्सन विक्रम राई लगायतले पनि थापाप्रति श्रद्धाञ्जली अर्पण गरे । 

डेढ सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका कलाकार थापाको शनिबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएको थियो । शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको थियो । त्यहीँ उनले अन्तिम सास दिए । उनका श्रीमती र सन्तान भारतबाट आउन ढिला भएपछि आइतबार उनको अन्त्येष्टी गर्न लागिएको हो । 

थापाप्रति नेपालीसँगै भारतीय कलाकारहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । सन् २०१४ मा रिलिज भएको हिन्दी फिल्म ‘मेरी कोम’मा कलाकार थापासँग काम गरेकी अभिनेत्री प्रियंका चोपडाले शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै आफूलाई एकदमै कठिन समयमा सम्हालेकोमा धन्यवाद दिएकी छन् ।  

बलिउड फिल्म ‘साहेब बहादुर’बाट अभिनय करिअर सुरु गरेका थापा नेपाली फिल्म ‘चिनो’मा निभाएको ‘राते काइँला’ पात्रबाट दर्शकमाझ परिचित थिए । पछिल्लो पटक पुष १७ गते प्रदर्शन भएको फिल्म ‘एक्लो’मा देखिएका उनका अझै थुप्रै फिल्म रिलिज हुन बाँकी छन् । उनी शुक्रबार बेलुकासम्म एक्सन फिल्म ‘राम नाम सत्य’को छायांकनमा व्यस्त थिए । 

नेपाली फिल्ममा खलनायक (भिलेन)को रूपमा परिचित उनले ‘चिनो’सहित ‘लोभी पापी’, ‘दर्पण छायाँ’, ‘सेतो बाघ’, ‘बलिदान’, ‘नेपाली बाबु’, ‘ठूल्दाई’ जस्ता फिल्ममा निभाएको भूमिका यादगार मानिन्छ । पछिल्लो समय अभिनयसँगै उनले काठमाडौंमा फिल्मसम्बन्धी अध्यापन गराउने संस्था एभरेस्ट फिल्म एकेडेमी सञ्चालन गर्दै आएका थिए ।