.jpg)
‘राते काइँला’को रूपमा परिचित कलाकार सुनिल थापाको निधनले नेपाली फिल्म क्षेत्र शोकमा डुबेको छ । शनिबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएका उनलाई फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनका समकालीन कलाकारहरू राजेश हमालदेखि विजय लामासम्मले उनलाई मर्मस्पर्शी रूपमा सम्झिएका छन् ।
अभिनेता हमालले आफ्नो फिल्म यात्रा नै थापाप्रति समर्पित गरेका छन् । उनले फेसबुकमा एक पोस्ट लेख्दै भनेका छन्, ‘सुनिल, तपाईं एक अद्भुत सहकर्मी हुनुहुन्थ्यो । तपाईंले कहिल्यै भरिन नसक्ने खाली ठाउँ छोड्नुभएको छ । नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्त्वपूर्ण मोड हुनुहुन्छ । मेरो सिनेमा यात्रा तपाईंप्रति समर्पित गर्दछु ।’
पछिल्लो पटक फिल्म ‘एक्लो’मा सुनिल थापासँग एकसाथ काम गरेका कलाकार विजय लामाले पनि फेसबुकमा एक पोस्ट लेख्दै आफू स्तब्ध भएको बताएका छन् । उनी लेख्छन्, ‘सुनिल, म स्तब्ध छु । तिमी यो दुनियाँबाट बिदा भएकोमा मैले विश्वास नै गर्न सकेको छैन । तिमीले भौतिक रूपमा हामीलाई छोडेर गए पनि तिम्रो सदा याद आउनेछ । भाई, तिम्रो आत्मालाई शान्ति मिलोस् ।’
कलाकार थापाको निधनप्रति अभिनेत्री जल शाहले पनि दुःख व्यक्त गरेकी छन् । उनले फेसबुक पोस्टमा लेखेकी छन्, ‘तपाईंको निधनले म स्तब्ध र दुःखी छु । तपाईंसँगका अद्भुत सम्झनाहरू मेरो दिलमा सधैं रहनेछन् । तपाईंले मेरो हृदयमा एक विशेष स्थान राख्नुभएको छ । तपाईंको धेरै याद आउनेछ । तपाईंको आत्मालाई शान्ति मिलोस्, दिग्गज ।’
कलाकारहरू हरिवंश आचार्य, अनुप बराल, किरण केसी, विराज भट्ट, रमित ढुंगाना, निशा अधिकारी, पल शाह, नीता ढुंगाना, पुष्प खड्का, बेनिशा हमाल, रिश्मा गुरुङ, निर्देशकहरू प्रदीप भट्टराई, सन्तोष सेन, गायकहरू राजेश पायल राई, प्रमोद खरेल, स्वरुप राज आचार्य, प्रताप दास लगायतले पनि कलाकार थापाप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

