Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार सुनिल थापाको निधन

फिल्मीखबर, काठमाडौं, 2026/02/07

sunil thapa

 

‘राते काइँला’को रूपमा परिचित कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षका उनको कार्डियाक अरेस्ट (मुटुको चाल बन्द हुनु)का कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका उनी अचानक अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो । र, उपचारकै क्रममा उनको निधन भएको हो । 

तीन दशकभन्दा लामो समयदेखि अभिनयमा सक्रिय उनले डेढ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘एक्लो’ हो, जुन गत पुष १७ गते रिलिज भएको थियो । शुक्रबार राति अबेरसम्म उनले एक्सन फिल्म ‘राम नाम सत्य’को छायांकन गरेका थिए । यो नै उनले काम गरेको अन्तिम फिल्म बन्न पुगेको छ । 

थापाले सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘मेरी कोम’बाट विश्वमै ख्याती कमाएका थिए । यसमा उनले अभिनेत्री प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकको भूमिका निभाएका थिए । यो फिल्मले उनलाई बलिउडमा ‘सशक्त चरित्र अभिनेता’को रूपमा चिनाएको थियो । केही साताअघि मात्र उनले अभिनय गरेको हिन्दी वेब सिरिज ‘द फेमिली म्यान ३’ ओटीटीमा रिलिज भएको छ ।

नेपाली फिल्ममा खलनायक (भिलेन)को रूपमा परिचित उनले ‘लोभी पापी’, ‘दर्पण छायाँ’, ‘मुखिया’, ‘सेतो बाघ’, ‘बलिदान’, ‘चिनो’, ‘नेपाली बाबु’, ‘ठूल्दाई’ जस्ता फिल्ममा निभाएको भूमिका यादगार मानिन्छ । पछिल्लो समय अभिनयसँगै उनले काठमाडौंमा फिल्मसम्बन्धी अध्यापन गराउने संस्था एभरेस्ट फिल्म एकेडेमी सञ्चालन गर्दै आएका थिए ।

कलाकार थापाको निधनसँगै नेपाली फिल्मको एउटा युगको अन्त्य भएको छ । अभिनयमार्फत गर्विलो पहिचान बनाएका थापाको निधनको खबरले नेपाली फिल्म क्षेत्र शोकमा डुबेको छ । उनको निधनप्रति दुःख व्यक्त गर्दै फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।