Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल जेसीजले ‘बिगुल’को प्रदर्शनमा सघाउने

फिल्मीखबर, काठमाडौं, 2026/02/06

bigul

 

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बिगुल’लाई नेपाल जेसीजले साथ दिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका निर्माता दिनेश कोइराला र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले प्रदर्शनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । अब जेसीजले देशभरका शाखालाई फिल्म हेर्न आह्वान गर्ने जनाइएको छ ।

केही साताअघि पूर्वदेखि पश्चिमसम्म भएको फिल्मको प्रचार अभियानमा पनि नेपाल जेसीजले सघाएको थियो । फिल्मका निर्माता कोइरालाले जेसीजसँगको सहकार्यले आफूहरूलाई अझ उर्जा मिलेको बताए । जेसीजका पूर्वअध्यक्ष समेत रहेका उनले आफूले देश र जनताको पक्षमा सन्देशका साथमा मनोरञ्जनात्मक फिल्म निर्माण गरेको दाबी गरे ।

फिल्मका निर्देशक रमेश कोइरालाले ‘बिगुल’मा समसामयिक राजनीतिक घटनाक्रमसँगै भुइँमान्छेको कथा पनि उठाइएको बताए । उनले भने, ‘वर्तमान राजनीतिक र सामाजिक परिदृश्यसँग मिल्दो भएकाले हरेक नेपालीले एकपटक यो फिल्म हेर्नुपर्छ । फिल्ममा भरपुर मनोरञ्जनका साथै आम नेपालीलाई देश र माटोप्रति अझ बढी प्रेम जगाउने सन्देश पनि छ ।’ 

अभिनेता नीर शाहले ‘बिगुल’ जस्तो वास्तविक कथामा विरलै फिल्म बन्ने गरेको उल्लेख गर्दै आफू यस फिल्मको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे । फिल्ममा न्यायाधीशको भूमिकामा अभिनय गरेका उनले कार्यक्रममा भने, ‘नेपालीमाझ भन्नैपर्ने कथामा ‘बिगुल’ बनेको छ । यसप्रकारका फिल्म निर्माणमा अझै जोड दिनुपर्छ ।’

 

bigul


अभिनेत्री बेनिशा हमालले फिल्ममा आफू चुनौतीपूर्ण भूमिकामा रहेको बताइन् । देशप्रतिको माया र जिम्मेवारीको सन्देश बोकेको ‘बिगुल’ एकपटक हरेक नेपालीले हेर्नैपर्ने उनको धारणा छ । अभिनेता नरेन खड्काले फिल्ममा आफू युवा शक्तिको रूपमा प्रस्तुत भएको प्रस्ट पार्दै देशप्रति सचेत र जागरूक सबै नेपालीले फिल्म मन पराउने विश्वास व्यक्त गरे । 

कल्पना पौडेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा नीर शाह, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।