
भोलि शनिबार (७ फेब्रअरी)देखि ‘भ्यालेन्टाइन सप्ताह’ सुरू हुँदैछ । यो सप्ताहलाई प्रेमिल जोडीहरूले एकअर्कालाई गुलाब, चकलेट वा विभिन्न उपहार दिएर प्रेम व्यक्त गर्ने अवसरका रूपमा मनाउने गरेका छन् । पछिल्ला वर्षहरूमा गीतसंगीत र फिल्ममार्फत पनि प्रेम अभिव्यक्त गर्ने चलन बढ्दै गएको छ ।
यही सन्दर्भमा यस वर्षको ‘भ्यालेन्टाइन डे’ प्रेमिल जोडीका लागि अझ विशेष बन्ने देखिएको छ । कारण, शुक्रबारबाट लभ र ब्रेकअपको कथामा आधारित फिल्म हलमा लागेका छन् । ती फिल्म हुन्, ‘कुमारी’ र ‘रमिताको पिरती’ । यी दुवै फिल्म जेनजी पुस्तालाई लक्षित गरेर निर्माण गरिएका भए पनि विषयवस्तुका हिसाबले विल्कुलै फरक छन् ।
‘कुमारी’ विशुद्ध प्रेमकथामा आधारित फिल्म हो । अझ भनौं, जेनजी लभस्टोरी । किनकि, फिल्मका मुख्य नायक-नायिका नै जेनजी पुस्ताका छन् । अबिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिकामा रहेको यस फिल्मले सामाजिक मूल्य-मान्यता र पारिवारिक अवरोधले प्रेममा आउने उतारचढावको कथामा पेश गरेको छ ।
‘डोको बुन्ने निगालो चोयाले’ गीतका कारण चर्चामा रहेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । उनी ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता लभस्टोरी फिल्मका लागि परिचित छन् । महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा विकास सुवेदीको लेखन छ । देशव्यापी १५० भन्दा बढी शो पाएको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
सुदिप्ताको निर्देशन बनेको ‘रमिताको पिरती’ भने ब्रेकअपको कथा हो । आदर्श प्रेम खोजिरहेकी युवतीले लगातारको ब्रेकअपपछि भोग्ने मानसिक तनाव, चिन्ता र पीडालाई फिल्ममा देखाइएको छ । आना शर्मा, विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ, रेनु योगी लगायतको अभिनय रहेको यस फिल्मका निर्माता सागर लम्साल हुन् ।

