.jpg)
सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु, केन्द्रीय द्वन्द्व र कथाको सेटिङबारे प्रकाश पारेको छ । परिवारभित्रको सम्बन्ध र टकरावलाई केन्द्रमा राखिएको ट्रेलरले एउटी आमाका लागि जन्मघरको महत्त्व देखाउन खोजेको छ ।
काव्यिक शैलीमा तयार पारिएको ट्रेलरमा श्रीमानको मृत्युपछि पनि सन्तानको जिम्मेवारी सम्हालेर बसेकी आमाको आफ्नो जन्मघर पुग्ने इच्छा पूरा गर्न सन्तानले गरेको संघर्षलाई देखाइएको छ । त्यसक्रममा परिवारमा आउने उतारचढावसँगै फिल्मका मुख्य जोडी आशीर्वाद क्षेत्री र निकिता आचार्यबीचको बाल्यकालदेखिको प्रेमलाई पनि ट्रेलरमा समेटिएको छ ।
निर्देशक भुपाल स्वयंको लेखन रहेको यस फिल्ममा आशीर्वाद र निकितासहित लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।
फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । फिल्मका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।

